भारतीय अवरोधले नाकामा सास्ती, आयात निर्यातमा असर

व्यवस्थापनका नाममा भारतीय प्रहरीले अवरोध गरेपछि सुनौली नजिक समान अलपत्र छन् । भारतीय प्रहरीलाई पैसा दिए मात्र सामान छिटो आउने व्यवसायीले आरोप लगाएका छन् ।

नियमविपरीत रकम मागेर दुस्ख दिएको व्यवसायी किरण पाण्डेले बताए । ‘मागेको रकम नदिँदा मैले पाँच दिन लगाएर भन्सार कटाएँ,’ उनले भने । सामान्य अवस्थामा नाकाबाट दैनिक ५ सय हाराहारी मालबाहक ट्रक भित्रिन्छन् । अहिले दैनिक तीन सय आउँछन् । यस्ता ट्रकले सामान्यत १ वा २ दिनमा सीमा पार गर्छन् ।

अवरोधले एक सातासम्म लागिरहेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीले माथिको आदेश भन्दै आउजाउ गर्ने ट्रकलाई कडाइ गरेका हुन् । भारततर्फ अहिले २० किलोमिटर टाढासम्म गाडीको लाइन छ । भारत प्रवेश गर्न सयौं यस्ता गाडी नेपालतर्फ लाम लागेका छन् । नाका अस्तव्यस्त छ । व्यवसायी कृष्ण शर्माले मागअनुसार रकम दिए पालो मिचेर पठाउँछन् । ‘नत्र आफूखुसी रोक्ने र छाड्ने गरेका छन्,’ उनले भने । सहज बनाउन स्थानीय तहमा पहल भए पनि सुधार हुन सकेको छैन ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ महासचिव नेत्र आचार्यले उद्योगी व्यवसायीका संघसंस्था, प्रमुख जिल्ला अधिकारी, भन्सार अधिकृतलगायतबाट भन्सार सहज बनाउन प्रयास भएप नि समाधान नभएको बताए ।

अवरोधले मालबाहक गाडी अन्य नाकातर्फ मोडिँदा राजस्व असुली प्रभावित बनेको छ । चालु आर्थिक वर्षमा भैरहवा भन्सारले ८१ अर्ब ४३ करोड राजस्व असुलीको लक्ष्य लिएको छ । चालु बर्षको पुस मसान्तसम्म ३७ अर्ब ४६ करोड १२ लाख लक्ष्य तोकिएको थियो । कार्यालयले ३३ अर्ब ४ करोड ९९ लाख संकलन गरेको छ ।

कान्तिपुर

 

सर्लाहीमा गोली चल्यो, एक घाईते

काठमाडौं– सर्लाहीको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा गोली चलेको छ ।
शुक्रवार विहान करिब चार बजे अज्ञात ब्यक्तिहरुले चलाएको गोली लागेर भारत भर्जुवा घर भएका १९ बर्षका राजीव पासवान घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) मसुद आलम खानले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा भारतको भर्जुवा स्थायी घर भएका घाईते पासवानकै छिमेकीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राजीवको दाहिने पाखुरामा गोली लागेको छ ।
अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भारतको सितामडी पठाउने तयारी भईरहेको एसपी खानले बताए ।
उनका अनुसार गोली चलाउनेको पहिचान भैसकेको छ ।

दोश्रो सातामा “शत्रुगते”, पहिलो सातामै ५ करोड ६२ लाख ग्रस कलेक्सन

मेगा मल्टिस्टारर चलचित्र ‘शत्रु गते’ शुक्रवारबाट दोस्रो सातामा लागेको छ । प्रदर्शनको पहिलो साता चलचित्रले गरेको उत्कृष्ट ब्यापार र दर्शकबाट पाएको पूर्ण साथले चलचित्रले दोस्रो सातामा पनि राम्रो शो पाइरहेको छ । चलचित्रले ६ दिनमा ५ करोड ६२ लाखको ग्रस व्यापार गरेको रिपोर्ट वितरकले सार्वजनिक गरेका छन । ५ करोड बढी ग्रस कलेक्सन गरेको खुशियालीमा चलचित्रका कलाकार,निर्माता तथा वितरकहरुले केक काटेर खुशियाली मनाएका छन् ।

चलचित्र दोश्रो सातामा प्रवेश गर्दा पनि थुप्रै शोहरु पाएको छ । शत्रुगतेले उपत्यकामा क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ । यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।

‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले “शत्रुगते”को निर्देशन गरेका हुन् । मह सञ्चारको ब्यानरमा निर्माण गरिएको शत्रुगतेको प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । निर्मातामा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् ।

फर्पिङ भञ्ज्याङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु ,२२ घाइते

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटना हुँदा २ को मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

‘डि’ सिने अवार्ड २०७५ को दशौं संस्करणका लागि दर्ता आव्हान

लामो समय देखि निरन्तर रुपमा आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्ड २०७५ को दशौं संस्करणका लागि चलचित्रहरुको दर्ता आव्हान गरिएको छ । पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको डि सिने अवार्ड १० औं संसकरण काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक मणीराज गौतमले बताएका छन् ।

०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रका लागि दर्ताको आव्हान गरिएको छ । ०७४ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिष्पर्धाका आधारमा गरिने यो डि सिने अवार्डलाई प्रतिष्ठित अवार्डको रुपमा लिने गरिन्छ । उपत्यका बाहिर समेत आयोजना गरिने नेपालको एकमात्र अवार्ड डि सिने अवार्डलाई यसपटक भने काठमाडौंमा आयोजना गरिन लागेको हो । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यका बाहिर गरिएपछि यस पटक भने काठमाडौंमा आयोजना गरिन लागेको उनले बताए । लगातार दुई वर्ष उपत्यका बाहिर र त्यसपछिको वर्ष काठमाडौंमा गरिने क्रम जारी रहने पनि उनले बताए ।
खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६मा भएको थियो । प्रविधि

को विकाशसँगै डि सिने अवार्डको लक्ष्य अनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४÷५ वर्ष भैसकेको छ । लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने डि सिने अवार्डले मान्यता बोकेको अध्यक्ष प्रियले बताए ।
प्रतिक्षित एवं प्रतिष्ठित अवार्डको मान्यता बोकेको डि सिने अवार्डको दर्ता समय चैत्र महिनामा तोकीएको छ । अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै डि सिने अवार्डको दशौं संस्करण जेष्ठको दोश्रो साता काठमाडौंमै आयोजना गरिने पनि छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

१० वर्षीया बालिका आफ्नै साथीबाट बलात्कृत

चितवन एउटै कक्षमा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् ।

छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो ।

अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो ।

घटनाको भोलिपल्ट उनी सिकिस्त भएकी थिइन् ।

सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन् ।

बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए ।

घटनामा संलग्न भनिएका बालकहरु ९ बर्ष पाँच महिना र ९ बर्ष सात महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

नागरिक दैनिक

भारतले नेपाल आउने बिजुलीको भाउ बढायो

काठमाडौं -भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६) रुपैयाँ मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ (६.३६) रुपैयाँ बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्राधीकरणले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

पर्सामा फेरि अर्की १० वर्षीया बालिकामाथि बलात्कार

वीरगञ्ज । पर्सामा फेरि अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिकामा १० वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका-५ का २३ वर्षीय मणीभुषण पाण्डेलाई पक्राउ गरेको छ ।

स्कुलबाट घर फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बालात्कार भएको थियो । पाण्डेले बाख्रा आफ्नो घरमा बाँधेर राखि बालिकालाई फुकाएर लान भनेर बोलाएका थिए ।

घरभित्र बाख्रा फुकाउन जाँदा ढोका थुनेर बालिकालाई बलात्कार गरेका हुन् । बालिका चिच्याएको आवाज सुनेर स्थानीय महिलाहरु घटना स्थलमा पुगेर बालिकाको उद्दार गरेर प्रहरीलाई खबर गरेका थिए ।

त्यहाँबाट भागेका पाण्डेलाई डकैला प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एक महिनाभित्र पर्साको पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिमा समेत गरी ३ जना बालिकामाथि बलात्कारको घटना भएको छ ।

फेशन फलेर फेशन शोको अन्तिम अडिसन आगामी शनिवार

क्रियसन प्रडक्सन ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतीमा न्यू ईयर फेशन फ्लोर शो आयोजना हुने भएको छ । गत शनिवार लिईएको अडिसनमा समय अभाव भएर उपस्थित हुन नसकेका मोडलहरुको मागलाई ध्यानमा राखी आगामी शनिवार अन्तिम पटक अडिसन लिन लागेको आयोजक शोभा पौडेलले बताएकी छिन । उक्त अडिसनमा उल्लेख्य संख्यामा पुरुष तथा महिला मोडलहरुको सहभागिता जनाएका थिए ।


नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर फेशन शो तथा डान्स पार्टी आयोजना हुन लागेको हो । उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि आगामी शनीवार अनामनगरस्थित बिहानी क्याफेमा अन्तिम अडिसन हुने आयोजक तथा मोडल शोभा पौडेलले बताईन । उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।


छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक पौडेलले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा रहने उक्त शो मा नेपालका चर्चित लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तूती समेत दिनेछन । स्मरणीय रहोस क्रियटिभ ईभेन्ट म्यानेजमेन्ट थुप्रै सफल फेशन शो, सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट आयोजना गर्दै आइरहेको संस्था हो ।


अडिसनका लागि ईच्छुक मोडलहरुले अडिसन हुने स्थान बिहानी क्याफे अनामनगरमा आगामी शनिवार १७ गते ११ बजे उपस्थिती भई सहभागिता जनाउन सक्नेछन । थप जानकारीका लागि मोवाईल नं। ९८४६७९४१७८,९८१३७७५९२२ मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।