सगरमाथा म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण

सगरमाथा म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई बुधबार राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।

कार्यक्रममा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक शिवराज जोशी, गायक सिताराम पोखरेल, गीतकार तथा वरिष्ठ पत्रकार शान्तिप्रिय, गीतकार तथा पत्रकार पुरुषोत्तम बस्नेत र गायिका सिन्धु मल्ल अतिथि रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय ७ जना सञ्चारकर्मीलाई सम्मान गरिने पनि घोषणा गरिएको थियो । कला पत्रकारिताबाट सम्मानित हुने सञ्चारकर्मीहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरणप्रसाद अधिकारी रहेका छन् भने सञ्चारकर्मी गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सबै सञ्चारकर्मी एक दशक भन्दा लामो समयदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

४४ विद्यामा २ सय २० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । अवार्ड आगामी मंसिर ३ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *