निर्मला प्रकरणबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा नेपाल सरकारले कसरी काम गर्छ भन्ने आधारमा संयुक्त राष्ट्रसँगले आफ्नो धारणा बनाउने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक जनाएकि छिन् । उनले निर्मला पन्तको हत्या प्रकरणको छानबिन संयुक्त राष्ट्र संघले कायम गरेको मापदण्ड अनुसार नभएकाे बताइन् ।

महिलामाथि हुने हिंसा अध्ययन गर्ने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक मंसिर ३ गते नेपाल अाएकी थिइन् । अाफ्नाे नेपाल बसाइकाे अन्तिममा बिहीबार पत्रकार सम्मेलन गरि निर्मला पन्त प्रकरणबाट नेपाल सरकारको परीक्षण हुने बताइन् ।

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘१३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नेपाल सरकारको परिक्षण हुने घटना हो । नेपालले अंगिकार गरेका मानवअधिकारका मापदण्डका आधारमा यो प्रकरणलाई सरकारले ठीकसँग टुंगो लगाउने छ भन्ने विश्वासका साथ म सबै घटनाक्रम नियाल्नेछु ।’

निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिनाभन्दा धेरै भैसक्दा पनि आजसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

rage against rape on siraha

बलात्कारीलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालय सिरहामा प्रदर्शन र धर्ना

सिरहा, मंसिर-१४ ।
सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

गाउँमा छठको अवसरमा नाटक (ड्रामा) भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।

मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका पारेर उनीहरुले महिलामाथि करणी गरेका थिए ।

महिलाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार छन् ।

इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जनाको पनि खोजी भइरहेको जनाएका छन । यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको भन्दै गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग राखिरहेका छन् ।

navajat sisu

इलामको अधेरेमा नवजात शिशुको शव फेला पर्यो

इलाम, मंसिर १४।
इलाम नगरपालिका–३ पुवाझुवाको अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्याल इलामले बताएको छ ।

शिशु जन्माएर फालेको शंकामा प्रहरीले इलाम नगरपालिका–९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारिमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मुखियालाई रत्तश्राव भइरहेकाले उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जनाए । मुखियाको स्वास्थ्य अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भीक बयान मात्रै लिएको जनाए ।

शिशु जिवितै जन्मिएको हो या मृत जन्मिएको हो भन्ने पत्ता लगाउन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको उनले बताए ।

निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जना पक्राउ

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले ‘माथिको आदेश’ भन्दै पक्राउ गरेकाे छ ।

justice for nirmala

प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ गर्न नसकेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागीले बताएका छन ।

drugs

राजधानीमा लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, मङ्सिर १४ ।
महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार सुरक्षा जाँचको क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति समातेको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिइन् ।

कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको बताइन ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको समेत प्रवक्ता सिंहले बताइन् ।

मुन

निजी जहाज ल्याएर काठमाडौं आएकी मुन को हुन त ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन वटा चार्टड विमान राखिएको छ। तीमध्ये दुईटा सरकारी हुन जसमा म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन जहाज चार्टर्ड गरी बिहीबार काठमाडौं आएका थिए।

उनीहरू आएकै दिन निजी जहाज ल्याएर आउने अर्की एक मान्छे भने सरकारी होइनन्। न त उनी उद्योगी वा व्यापारी नै हुन्। तर यी दुबै जना उनको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पाहुना हुन्।

बमबार्डिएर सिआरजे सिरिजको निजी जहाज ल्याएर काठमाडौं ओर्लने ती महिला कोरियाली नागरिक हाक जा हान मुन हुन्। उनको संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आजदेखि होटल हायातमा ४ दिने समिट आयोजना गरेको छ। जहाँ विभिन्न देशका बहालवाला र पूर्वसरकार र राष्ट्रप्रमुख सहभागी छन्। त्यसमा ओसिनिया तीन टापु राष्ट्रका प्रमुख पनि रहेका छन्।

यिनै भिभिआइपीको सवारीका लागि ट्राफिक प्रहरीले ४ दिनसम्म उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। चौतर्फी जनदवाव र आलोचनापछि जोर बिजोर नियम फिर्ता भएको छ तर सवारी जामले दैनिकी भने त्यतिकै बिथोलिएको छ।

राजधानीवासीको दैनिकी अस्तव्यस्त पार्ने गरी समिट आयोजना गर्ने अन्तर्राष्ट्रिय गैरसकारी संस्थाकी अध्यक्ष मुन इसाई धर्मकी प्रचारक समेत हुन्।

काठमाडौं समिटको उद्देश्यमध्ये एक विवाह र परिवारलाई मजबुद् बनाउने भन्ने रहेको छ।

समिटमा जलवायु परिवर्तन, शान्ति र विकास, सुशासन, द्वन्द्व समाधान र विवाह र परिवारलाई मजबुद् बनाउने विषयमा छलफल गर्ने
समेत बताइएको छ। यस्ता छलफलले संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यलाई सघाउने बताइएको छ।

यति ठूलो कार्यक्रम आयोजना गर्ने मुन भने धेरै नै विवादास्पद व्यक्ति हुन् । १० दिनअघि उनी अफ्रिकी मुलुक जिम्बावेमा थिइन्। त्यहाँको चर्चहरूको परिषद्ले उनको कार्यक्रममा सहभागी नहुन क्रिश्चियन समुदायलाई आग्रह समेत गरेको थियो। त्यहाँको सूचना मन्त्रालयको निमन्त्रणामा जिम्बावे पुगेकी मुनले पत्रकार सम्मेलनमा उपस्थित सम्पुर्ण पत्रकारलाई २०/२० डलर बाँडेकी थिइन्।

आखिर को हुन् मुन ?

यिनका अनुयायीले ‘आमा’ वा ‘सत्य आमा’ भनेर सम्बोधन गर्ने मुन १९४३ मा हाल उत्तर कोरियामा पर्ने सिन्ली भन्ने ठाउँमा जन्मिएकी हुन्।

उनकी आमा क्रिश्चियन थिइन् र बुवा एक उपदेशकका भक्त थिए।

उनी पाँच वर्षकी हुँदा उनका परिवारलाई कम्युनिष्टहरू समातेका थिए। ११ दिनपछि रिहा भएका उनीहरू थेगु भन्ने ठाउँमा गए। कोरियन युद्धताका उनीहरू त्यही बसिरहे।

पछि फेरि उनीहरूको परिवार चून चुन भन्ने ठाउँमा सरे । मुनले त्यहीँ विद्यालय शिक्षा लिइन र त्यही क्रममा उनकी आमा र मुन युनिफिकेसन चर्चका सदस्य भएर रहे ।

१९६०मा युनिफिकेसन चर्चका संस्थापक सुन म्युङ मुनसँग उनको विवाह भयो जतिबेला उनी मात्र १७ वर्षकी थिइन् भने सुन ४० वर्षका थिए। सुनको भने यो दोस्रो विवाह थियो।

१९५४ मा युनिफिकेसन चर्चको स्थापना गर्दा सुनले आफूलाई मसिहा घोषणा गरेका थिए। त्यसपश्चात उनी युनिफिकेसन चर्चकी सहसंस्थापक बनिन्, यसलाई अहिले फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एण्ड युनिफिकेसन समेत भनिन्छ।

मुन दम्पत्तिका १४ सन्तान जन्मिएका थिए ,तीमध्ये १० जना अहिले पनि छन्। उनीहरूका ४० भन्दा बढी नाति-नातिनी भै सकेका छन्।

सुन र मुनको विवाह भएकै वर्षदेखि उनिहरुले विवाहित जोडीलाई आशिर्वाद दिने चलन सुरू गरेका थिए। पछि यो दम्पत्तिले कोरियादेखि अमेरिकासम्म विवाह गर्न लागेका र विवाहित जोडीलाई आशिर्वाद दिंदै हिडे।

सन् १९९२ मा उनले आफ्नु पतिसँग मिलेर वुमन्स फेडेरेसन फर वर्ल्ड पिस स्थापना गरिन ।

युनिभर्सल पिस फेडेरेसन सन् २००५ मा स्थापना भए पश्चात यसको शुभारम्भका लागि मुन दम्पत्तिले सो साल १०० दिनमा विश्वका १०० वटा शहरको भ्रमण गरे।

युपिएफका संसारभरि शाखा फैलिएका छन्। सन् २०१२ मा उनको पतिको मृत्यु भएपछि मुनले यो संस्थाको सबै जिम्मेवारी आफैले सम्हालेकी छिन। अनुयायीले उनलाई अहिले ‘को-मसिहा’ भन्ने गर्दछन ।

पतिको मृत्युपछि उनको धार्मिक लिगेसीसँगै सम्पत्ति पनि मुनको नाममा आएको छ। मुन परिवारको कोरियादेखि अमेरिकासम्म रियल स्टेट, मिडिया, होटल, सी फुड कम्पनीमा धेरै लगानी रहेको छ।

विश्वभरि उनको चर्चका ३० लाखभन्दा बढि सदस्य भएको बताइन्छ। ती सदस्यहरूले दानको रूपमा करोडौ पैसा चर्चलाई दिन्छन्।

काठमाडौंमा भएको समिटका सहयोगीमा नेपाल सरकार र शान्तिका लागि सांसदहरूको अन्तर्राष्ट्रिय संघ (आइएपिपी) रहेका छन्। आइएपिपीकी संस्थापक पनि मुन आफै हुन्। आयोजक युपिएफको नेपाल शाखाका अध्यक्ष भने पूर्वमन्त्री एकनाथ ढकाल रहेका छन ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ढकाल गरिबी निवारण मन्त्री थिए।

गत वर्षको संसदीय चुनावको केही अघि ढकालले आफ्नो दल तत्कालीन नेकपा एमालेसंग मिलाएका थिए। (एजेन्सीहरूको सहयोगमा)

anfa complex

महिला साफ च्याम्पियनसिप फागुनको अन्तिम साताबाट विराटनगरमा

विराटनगर, मंसिर १४ ।
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही फागुन अन्तिम साताबाट विराटनगरमा हुने तय भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने बताएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति भने तोकिएको थिएन । ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले प्रतियोगिताको मिति तय गरेको एन्फाले जनाएको छ ।

महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भए पनि श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि नेपालले यो अवसर पाएको हो ।

football nepal police club

सहिद स्मारक ए डिभिजन लिग : पुलिस क्लवद्वारा एनआरटी ३-० ले पराजित

काठमाडौं, मंसिर १४ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजबाट सुरु भएका छन् । लिगको पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे ।

जारी  ए डिभिजन लिगमा पुलिस क्लबको यो तेस्रो जित हो भने एनआरटीको चौथो हार । लिगमा ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रमा भ्रमण

काठमाडौं, मंसिर १४।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि उतत्साहपूर्वक भ्रमण गरेका छन्।
शुक्रबार विहान १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरे। उक्त अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको पुनर्निर्माणबारे पनि चासो राखेका थिए।
प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनाए।
भ्रमणका क्रममा उनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पुर्याएका सम्पदाबारे विस्तृत जानकारी गराइएको थियो। एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुगेका हुन्।