nepali cricket team on uae

टी–ट्वान्टी सिरिजको यूएई विरुद्दको पहिलो खेलमा नेपाल २१ रनले पराजित

काठमाडौं— १७, माघ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएईले दिएकाे १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३२ रनमात्र बनऔन सक्यो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले भने सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् ।

युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २/२ विकेट लिए भने आमिर हायातले १ विकेट लिए । नेपालले सिरिजको दोस्रो खेल यहि शुक्रबार खेल्नेछ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियाे ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए ।

युएईका लागि साइमान अनवरले सर्वाधिक ५९ रन जोड्दा महोम्मद उस्मानले ३० रन, महोम्मद बुटाले २० रन र सिपी रिजवानले २२ रनकाे योगदान गरे ।

rashtriya sabha

राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं— १७, माघ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद् राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएको विधेयक बिहीबार बहुमतले पारित भएको हो ।

बैठकको सुरूदेखि नै कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएपनि अवरोध गरेकाले उनीहरूले छलफलसमेत बहिस्कार गरे ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले अनशनरत् डा. गोविन्द केसीसँग वार्ताका लागि टोली गठन गरेर वार्ता गर्न आग्रह गरेका थिए ।

सो विधेयकमा संशोधन हालेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद वृजेशचन्द्र लालले छलफलमा सहभागी हुँदै डा. केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गर्नुपर्ने माग गरे ।

तर, उनको प्रस्ताव बहुमतबाट अस्वीकृत भयो । विधेयकमाथिका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

कांग्रेस सांसदहरुको विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत् गरे । त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि लागू हुनेछ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ ।
(इमेज खबर)

restaurant and bar association

रेष्टुरेन्ट र बारमा गरिएको १० प्रतिशत सेवा शुल्क खारेजीको राष्ट्रिय उपभोक्ता मन्चद्वारा स्वागत

काठमाडौं— १७, माघ ।

माघ-राष्ट्रिय उपभोक्ता मन्चले नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेजीको स्वागत गरेको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी प्रेस बिज्ञप्तिमा रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णयको स्वागत गरिएको उल्लेख छ । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णय गरेको थियो ।

restaurant and bar association

यस अघि राष्ट्रिय उपभोक्ता मन्चले सेवा शुल्क खारेजीका लागि भन्दै परमादेश जारी गर्न गत आश्विन २ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । उक्त रिट हाल बिचाराधिन अवस्थामा छ ।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाअस्पताल भित्रैबाट बिमारी कुरुवा लुटिए

धरान— १७, माघ ।

सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् ।

मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् ।

उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिए ।

ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो ।

यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र रु तीन हजार ४०० नगद लुटिएको थियो ।

मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो ।

कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको हो ।

उनका विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
(रासस)

पश्चिमी वायु पुनः सक्रिय

पश्चिमी वायुले देशका अधिकांश भेगमा बदली तथा वर्षा र हिमपात हुने

काठमाडौं— १७, माघ ।

पश्चिमी वायु पुनः सक्रिय भएका कारण बिहीबार देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मंगलबारदेखि क्रमिक सुधार आएको थियो ।

बुधबार घाम लागेपनि अपराह्नपछि मौसम बद्लियो ।

बुधबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव बिहीबार रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ । आगामी शनिबारदेखि आंशिक बदली रहेपनि मौसममा राम्रै सुधार हुने देखिन्छ’–उनले भने ।

मौसमविद अर्यालकाअनुसार अहिले जे–जति मौसमी प्रणाली देखापर्छन्, ती पश्चिमबाटै हुन्छन् । विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ ।

जाडोयाम (विन्टर सिजन)को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ । अझै एक महिना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविदको भनाइ छ ।

‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’लाई प्रि–मनसुन अवधि मानिन्छ ।

त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ ।

खासगरी प्रि–मनसुनका बेला अपराह्नपछि या साँझतिर मेघगर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली भइ पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वाका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको सम्भावना औंल्याएको छ ।

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य तथा पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ ।

शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ ।

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम ३.२ र अधिकतम् तापक्रम १८.५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौंको न्यूनतम् तापक्रम घटेर १ डिग्रीमा झरेको थियो ।

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम १ र अधिकतम् तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा बढी अधिकतम् तापक्रम विराटनगरको २५ तथा सिमरा र नेपालगन्जको समान २३ डिग्री सेल्सियस छ ।

(रासस)

sadhu santa

साधुसन्तले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)को साथ छोड्दै

लखनउ— १७, माघ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् ।

हालै साधुसन्त सम्मिलित परम धर्म संसदले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध आलोचना प्रस्ताव पारित गरेको छ । प्रयागराजको कुम्भ क्षेत्रमा तीन दिवसीय परम धर्म संसद आयोजना गरिएको थियो, जसले अयोध्यामा राम मन्दिर निर्माणमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाउँदै २१ फेब्रुअरीबाट आफैंले मन्दिर निर्माण सुरु गर्ने घोषणा गरेको छ ।

वसन्त पञ्चमीका दिनबाट साधुसन्तहरु अयोध्यातर्फ प्रस्थान गर्ने र २१ फेब्रुअरीबाट मन्दिर निर्माणमा जुट्ने घोषणा गरिएको हो । मन्दिर कुन ठाउँमा बनाउने भन्ने प्रष्ट पारिएको छैन ।

शंकराचार्य स्वरुपानन्द सरस्वतीले राम मन्दिर निर्माणको घोषणा गरेका हुन् ।

परम धर्म संसदका आयोजक तथा गंगा सेवक अभियानका प्रमुख स्वामी अविमुक्तेश्वरानन्दका अनुसार केन्द्र सरकारबाट राम मन्दिर निर्माण हुने आशा नभएकाले यस्तो निर्णय गरिएको हो । मोदी नेतृत्वको सरकारको आलोचना गर्दै उनले भने, ‘जुन सरकारले काशी र प्रयागमा सयौं मन्दिरलाई भत्काएर नष्ट गरेको छ, त्यो सरकारबाट मन्दिर निर्माणको आशा गर्नु मुर्खताबाहेक केही हुनेछैन ।’

शंकराचार्य स्वरुपानन्द सरस्वतीले पनि नरेन्द्र मोदीप्रति लक्षित गर्दै भने, ‘गंगा माताले बोलाउनु भएको छ, म गंगालाई स्वच्छ बनाउँछु भन्दै आकर्षक नारा लगाएर हिन्दु धर्मावलम्बीको सहानुभूति लिए पनि अहिलेसमम न गंगा नदी निर्मल भएको छ, नत अविरल नै भयो ।’
(ईमेज खबर/एजेन्सी)

नेपाली कांग्रेसले संसद अवरुद्ध

प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै प्रमुख विपक्षी कांग्रेसद्धारा संसद अवरुद्ध

काठमाडौं— १७, माघ ।

अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनसाथ कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले बोले लगतै सांसदहरु उठेका छन् ।

सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जनसहित पारित गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यानको रक्षा गर्नुपर्छ, चिकित्सा शिक्षा विधेयक जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा गर्दै, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

रिजालले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह समेत गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।

नेपाली कामदार जापान पठाउन ‘गोप्य’ छलफल गरिदैं

काठमाडौं— १७, माघ ।

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन ।

स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ ।

श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ ।

सोही आधारमा एक मुलुकसँग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।

मन्त्रालयका ती अधिकारी पनि उनीहरूको सम्मान स्वरूप आफूले छलफलका विषय सार्वजनिक गर्न नसक्ने बताउँछन् ।

यद्यपि, उनका अनुसार यसबीचमा मन्त्री गोकर्ण विष्टले पनि जापानी राजदूतसँग पटक पटक भेट गरिसकेका छन् ।

छलफलका क्रममा श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधा राम्रो होस भन्ने नेपालको चहना रहेको मनत्री विष्टले प्रष्ट पारेका छन् ।

यदि जापान र नेपालबीच सहमति भएर नेपाली कामदार जापान गए भने उनीहरू जाने मोडल अहिलेसम्मकै उत्कृष्ट हुने मन्त्रालय श्रोतको दाबी छ ।

विकसित मुलुक जापान मानव अधिकारको हिसाबले निकै सुरक्षित र सामाजिक सुरक्षाको हिसाबले पनि उत्कृष्ट देश हो ।

अन्य ठाउँभन्दा कामदारले गर्ने मिहेनेतको पाटो एउटा भए पनि न्यूनतम तलब सुविधा, मानव अधिकारको अवस्था र अन्य सामाजिक सुरक्षाको अवस्थालगायतका हिसाबले धेरै उन्नत रहेको छ ।

वैदेशिक रोजगारका नाममा भाषामा ठगिने डर
वैदेशिक रोजगारका लागि जापान जान पाइने भनेपछि अहिले धेरैमा जापानीज भाषाको मोह निकै बढेको छ ।

भाषा सिकिराखे जापान रोजगार खुल्ने बित्तिकै जान पाइने बुझाइ छ । मन्त्रालयका ती अधिकारी वैदेशिक रोजगारमा जापानका विषयमा अन्य विवरण सार्वजनिक गरे कन्सल्टेन्सीले जापानिज भाषालाई कमाइ खाने भाँडो बनाउन सक्ने भन्दै सोप्रति सचेत रहेको उल्लेख गरे ।

उनका अनुसार अहिले कतिपय कन्सल्टेन्सीले यही नाममा भाषा पढाउन थालेको जानकारी आफूहरूले पाएको बताए ।

यता, कोर्स के हुने, कुन–कुन क्षेत्रका लागि कामदार कति लैजाने, भर्ना प्रक्रिया भने टुङ्गो लाग्न बाँकी छ । हाल विद्यार्थी भिसामार्फत धेरै नेपाली जापानमा छन् ।

विद्यार्थी भिसा सहजै पाइने भएकाले सोही भिसालाई नेपालीले जापान प्रवेशको माध्यम बनाउँदै आएका छन् । पछिल्लो समय नेपालीको लागि जापान आर्कषक गन्तव्य बनेको छ ।

जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा २० वर्षदेखि कामदारको अभाव हुँदै गएको र त्यो अभाव पछिल्लो समय झन् चुलिँदै गएको भनेको थियो ।

अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा कामदार लैजाने विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेको छ ।

जापान आगामी मार्चदेखि कामदार आफ्नो देश भित्र्याउने योजनामा छ ।

विदेशी कामदार भित्र्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो ।

नर्सिङ केयर, रेष्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

कम्तीमा ३ लाख ४५ हजार १ सय ५० आप्रवासी कामदारलाई रोजगार भिसाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापान सरकारको लक्ष्य रहेको छ । सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेष्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । बाँकी ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी गोकर्ण विष्टले सम्हालेदेखि नै जापानमा नेपाली कामदारका लागि ढोका खुला गर्न पहल अघि बढेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो जापान भ्रमणको क्रममा समेत यस विषयलाई उच्च प्राथमिकताका साथ उठाएका थिए । जसअनुसार कामदार भित्र्याउने देशको सूचीमा जापानले नेपाललाई पनि समावेश गरेको थियो ।

(रातोपाटी)

america

अमेरिकामा चिसोका कारण ७ जनाको मृत्यु

काठमाडौं— १७, माघ ।

अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो ।

चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ ।

विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ ।

उत्तरी डाकोटाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ ।

सिकागोका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि बढी जाडो महसुस गरिएको छ ।

अमेरिकी मौसम पूर्वानुमान केन्द्रले केही राज्यमा आजबाट पुनः हिमपात हुने प्रक्षेपण गरेको छ ।

विस्कन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् ।

(ईमेज खबर/एजेन्सी)