UAE

‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

माघ-७, यूएई ।

यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् ।

‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने ।

रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै थिएनन् । बोली लरबरिएको थियो । राम्रै कम्पनी थियो । काम र कमाई पनि लोभ लाग्दै थियो ।

रक्सी पिएर गाडी कुदाउनु उनको लागि सामान्य हो ।

‘डराउनु भो ? केही हुँदैन आउनुस्, मैले कस्तो कस्तो हुँदा त गाडी कुदाएको छु । आज त कहाँ मातेको छु र?’ गाडीमा बस्न मलाई जोड गरिरहे ।

रातको झन्डै एक बजेको थियो । धेरैबेरसम्म कर गरिरहे । मैले उनीसँग यात्रा गर्न मानिन् । कहिल्यै रक्सी नपिउने रेसम लामाको गाडीमा बसेर कोठा आएँ ।
त्यतिखेर म जवअल जसै पहाड पुगेको थिएँ । यूएईको उत्तरी राज्य रसअल खेमाहमा यो पहाड पर्छ । जुन युएईको सबै भन्दा अग्लो पहाड हो । समुन्द्री सतहबाट १ हजार ९ सय ३४ मिटर अग्लो उचाइमा छ । यसलाई रसअल खेमाह सरकारले पर्यटन क्षेत्रको रूपमा विकास गरेको छ । यूएईका विभिन्न राज्यबाट घुम्न, हेर्न र पिकनिक खान यो पहाडमा आउने गर्दछन् ।

नेपालमा हरियाली पहाड देखेर रमाउने हामी नेपालीलाई यूएईको यो नाङगो पहाड पनि रमाइलै लाग्छ । मरुभूमिमा यस्तो पहाडमा देख्दा रमाइलो नै लाग्दो रहेछ । यसमा ग्रेगर चट्टानबाहेक कुनै रुख बुट्टा देखिन्न । फराकिलो बाटो बनाइएको यो पहाडमा संसारको सबै भन्दा लामो (२.८ किलोमिटर) जिप लाइन पनि छ । एउटा फलामको डोरीमा घोप्टो परेर द्रुत गतिमा पहाडको एउटा टुप्पोबाट अर्को टुप्पोमा यात्रा गर्दाको मज्जा बेग्लै छ । गर्मीको बेला यूएईको अन्य स्थानमा ४५ डिग्री तापक्रम हुँदा यो पहाडमा ३०/३५ डिग्रीको हाराहारीमा हुन्छ । जाडो मौसममा त कहिलेकहीँ हिउँ पनि पर्छ । यस अर्थमा यो पहाड घुम्न र पिकनिक गर्न रमाइलै छ ।

नेपालमा शनिवार भने जस्तै यूएईमा शुक्रवारको दिन छुट्टीको दिन हो । शुक्रवारको दिन पारेर यो पहाड घुम्न जानु भो भने यूएईका सातै वटा राज्यमा काम गर्ने कयौँ नेपालीहरू भेटिन्छन् । उनीहरू प्राय पिकनिक खान उक्त पहाडमा पुग्ने गर्छन् । आफ्नै साधन हुने कतिपय नेपालीहरू त बिहीवार बेलुका नै पहाडमा गएर रात बिताउने गर्दछन् । र, जुमारात मनाउँछन् । ‘वीकेण्ड’ लाई अरबी भाषामा जुमेरात भनिन्छ ।

अक्सर नेपालीहरूको पिकनिक पार्टीमा रक्सी अनिवार्य जस्तै भइसकेको छ । यूएईमा हुने नेपालीको हरेक पिकनिक पार्टीमा रक्सी नहोस् त पिकनिक नै नहुने चलन छ । चाहे त्यो अबुधाबीको कर्निस पार्कमा होस् या बरदुबईको क्यारिफोर छेउको नेपाली पार्क (मेट्रो स्टेसन) होस् नेपालीहरूले रक्सी धोकेकै हुन्छन् ।

यूएई सरकारले पार्कलगायतका सार्वजनिक स्थलहरूमा खुलारुपमा रक्सी सेवन गर्न प्रतिबन्ध गरेको छ । अझ शारजाह राज्यमा त किनबेच र खान समेत पाइँदैन । नेपालमा कानुन पालना नगर्ने छाडा संस्कारको बानी परेका हामी नेपालीलाई यहाँको बलियो कानुनले पनि छेक्न सकेको छैन ।

बरदुबईको पार्कमा बसेर बियर पिउने केटाकेटीहरूले कागजले बेरेर लुकाएर पिउने गरेको भेटिए । अलग अलग स्थानमा काम गर्ने र बस्ने उनीहरू शुक्रवारे छुट्टीको दिन सोही स्थानमा अङ्गालो मारेर मात्तिन्छन् । कतिपय त रूखको बुट्यान मुनि ‘खुलम खुला प्यार करेङ्गे हम, यस दुनियाँ से नही डरेङ्गे हम्’ शैलीमा अङ्गालो मारेर पिउँदै गरेका भेटिन्छन् । उनीहरूको क्रियाकलाप देखि नसक्नु हुन्छ । तपाईँले केही बोल्नु भयो कि पिटाइ खाई हाल्नु हुन्छ । कसैले ’डिस्टर्ब’ गरे झम्टिहाल्ने ।

अलिक पढेलेखेका अफिसमा काम गर्ने नेपालीहरू त झनै बाठा । पिकनिक गर्नुपर्ने, रक्सी बिनाको पिकनिक के पिकनिक ? जुक्ति निकाली हाल्ने । पेप्सी, कोकाकोला र जुसको बोतलमा ह्विस्की लिएर जाने । त्यसैमा मात्रा मिलाएर मिसाइदिने । फ्यामिली पार्कमा बसेर आरामले बारबीक्यु गर्दै पिइदिने ।

दुबईको एउटा रेस्टुरेन्टमा कार्यरत एक जना नेपाली केही दिनदेखि साथीभाइ र घरपरिवारसँग सम्पर्क विहीन भए । साथीहरूले कम्पनीमा सोधिखोजी गरे । यस बारेमा कम्पनीले मुख खोल्न चाहेन । धेरै दिनदेखि सम्पर्क विहीन भएपछि नेपालमा रहेकी श्रीमतीले पनि जसरी हुन्छ खोजी गरिदिन अनुरोध गरिन् । छिन छिनमा ‘लौ न पत्ता लगाइदिनुस्, लौ न’ भन्दै म्यासेन्जरमा बिलौना गर्न थाले पछि खोजी सुरु गरियो । कुरा बुझ्दै जाँदा उनी दिनभर रक्सी खाएर बसेको र बेलुकीपख कम्पनीको डेलिभरी मोटर बाइक दुर्घटनामा परेछन् । स्थानीय अदालतले २५ हजार दिर्हाम सजाय तोक्यो । जरिवाना तिर्न नसके पछि उनी अहिले जेल सजाय भोगिरहेका छन् । यो घट्नालाई नजिकबाट जान्ने महेश थापा भन्छन्, ’चन्दा उठाएर सहयोग गरौँ न त भनेको, रक्सी खाएर जेल जानेलाई सहयोग गर्न कसैले मानेनन् ।’ महेशका अनुसार उनी २५ हजार दिर्हाम बराबरको जेल सजाय काटेपछि कहिले फर्केर आउन नपाउने गरी ‘डिपोर्ट’ हुँदैछन् ।

केही कमाइ होस्, घरमा बुढा भएका बाआमाको मुहारमा मुस्कान ल्याउन सकियोस्, बुढीलाई एक सरो कपडा फेर्न र मुना जस्ता कलिला छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपना बोकेका यी रक्स्याहाले अन्ततः सबैको सपनालाई स्वाहा पारे । आफै पनि डिपोर्ट हुँदैछन् ।

यि प्रतिनिधि उदाहरण मात्रै हुन् । यहाँ समाजका जान्ने बुझ्ने नेपालीहरू नै रक्सी पिएर गाडी चलाउने गर्छन् । नेपालमा जस्तो यहाँ प्रहरीले बाटोमा रोकेर मापासे चेक गर्ने भए गाडीको लाइसेन्स हुने प्रायजसो नेपालीहरू समातिन्छन् । तर यहाँ ‘केही नभएसम्म केही पनि हुन्न, भएपछि रोई कराइले पनि छुन्न ।’ ‘ड्रिन्क्स एन्ड ड्राइभ’ मा शून्य सहनशिलता अपनाएको देश हो, यूएई । नेपालमा जस्तो भनसुन र माफ चल्दैन । जरिवाना र जेल सजाय हुन्छ ।

नेपाली दूतावास अबुधाबीले जनाए अनुसार यूएईको जेलहरूमा दुई सय नेपाली खब्बुस (अरबी रोटी) चपाउँदै बसिरहेका छन् । नेपाली दूतावासले डिसेम्बर महिनामा यूएईका विभिन्न स्थानहरूमा रहेका ८ वटा जेल भ्रमण गर्दा उक्त सङ्ख्यामा नेपालीहरू जेलमा भेटिएको बताएको छ ।

जेलमा रहेका नेपाली मध्ये ११६ जना रक्सी खाने, झगडा गर्ने, रक्सी खाएर गाडी कुदाउनेहरू हुन् । जेल जीवन बिताइरहेकाहरू मध्ये आधा भन्दा धेरै (५८ प्रतिशत) रक्सी पिएर गैर कानुनी काम गर्नेहरू रहेछन् । त्यस्तै २० जना नेपाली चोरीको आरोपमा, १२ जना हत्याको आरोपमा र १० जना सोधपुछको क्रममा थुनामा रहेका छन् । सूचनामा जनाइए अनुसार ७ जना नेपाली नक्कली कागजात बनाएको, ८ जना यौनजन्य अपराधमा र ५ जना लागु औषधको आरोपमा जेल सजाय भोगिरहेका छन् । २२ जना नेपाली भिसा नभएका र सार्वजनिक सम्पत्तिको हानी पुर्‍याएको आरोपमा थुनिएका छन् ।

त्यस्तै सन २०१८ मा यूएईमा १०७ नेपालीले ज्यान गुमाए । नेपाली दूतावास अबुधाबीले वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर सन् २०१८ मा ज्यान गुमाउनेमा ९८ पुरुष र ९ महिला रहेको बताइएको छ ।
उनीहरूमध्ये १०३ जनाको शव नेपाल पठाइसकिएको छ । दूतावासका अनुसार ४७ को जनाको प्राकृतिक मृत्यु, ३३ आत्महत्या र २३ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । अनुसन्धानको क्रममा रहेकोले ४ जनाको शव नेपाल पठाउन बाँकी नै छ । केही महिना पहिले यूएईमा भएको सृजना बरालको हत्याको कारण पनि रक्सी नै थियो । उनको शव अहिले पनि अनुसन्धानको क्रममा रहेकोले यूएईमै रहेको छ । नेपालमा १० वर्षको नाबालक छोरो आमाको यादमा रुन्छ । यता आमाको शव कहिले नेपाल जाने हो टुङ्गो छैन ।

छुट्टीमा नेपाल गएको बेला एक जना साथीको श्रीमतीले मसँग गुनासो गरिन् । नेपालमा हुँदा पेप्सी पनि नपिउने उनका श्रीमान् केही वर्ष यूएई बसेर आउँदा जाड्याहा भएर आए भन्ने उनको गुनासो थियो । उनले पटक पटक कारण सोधिरहिन् । मसँग जवाफ थिएन ।
झन्डै २ लाख २५ हजार नेपाली कार्यरत यूएईमा दुई सय नेपाली जेलमा रहनु र १ सय ७ जना नेपालीहरूको मृत्युले एउटा दुखद सङ्केत दिएको छ । जेलमा रहनेहरू मध्ये अधिकांश रक्सीसँग सम्बन्धित छन् भने मृत्यु भएकाहरू मध्ये पनि झन्डै आधाको मात्र मृत्यु प्राकृतिक भएको बताइएको छ ।
सामान्यतः कुनै कारण बिना नै सुतेकै अवस्थामा मृत्यु भएमा, ह्दयघात भएमा वा कुनै बिमार लागेर मृत्यु भएमा प्राकृतिक मृत्यु मानिन्छ । यो मृत्युको कुनै कारण नहुन पनि सक्छ । अथवा भनौँ ठ्याक्कै यही कारणले भन्ने थाहा नभएमा पनि प्राकृतिक मृत्यु भनेर घोषणा गरिन्छ । यूएईमा मृत्यु भएका मध्ये ३३ जनाले आत्महत्या गरेका छन् । उनीहरूले आत्महत्या गर्नुमा वैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डन पनि कारणको रूपमा छ । केही घट्नाहरु हेर्दा आत्महत्या गर्नेहरू मध्ये पनि अधिकांश रक्सीका नियमित पारखी थिए । त्यसै गरी २३ जना नेपालीले दुर्घटनामा ज्यान गुमाएका छन् । रक्सी पिएर बाटो काट्नेहरू पनि दुर्घटनामा मरेका छन् ।

यहाँ प्राकृतिक मृत्यु हुनेहरू मध्ये पनि धेरै जनाको मृत्युको कारण रक्सी नै हो । दिनभर ५० डिग्रीको तातोमा काम गरेर बेलुकी अबेर कोठा पुगेर दुई चार प्याग रक्सी पिउने अनि एसी (एयर कन्डिसन) को चिसो हावा आफूतिर फर्काएर सुतेकाहरू बिहान नउठेका धेरै घटना छन् । तैपनि नेपालीहरूले उसै गरी पिउन छोडेका छैन । रक्सी पिएर झगडा गर्न छाडेका छैनन् । मातेर गाडी चलाउन छाडेका छैनन् । इज्जत त के, बरु ज्यान जाला नेपालीले रक्सी छोड्ने वाला छैन किनकि नेपालीहरू बहादुर छन् । मर्न डराउँदैनन् ।
(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *