Logo
25 Apr 2024    १३ बैशाख २०८१, बिहीबार

ताजा खबर

‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुदै उपनिर्वाचन:आजदेखि प्रचारप्रसार गर्न नपाइने चिया निर्यातमा भारतीय अवरोध हट्यो

सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गरेको विद्युतीय बस भारतमै बनेको पुष्टि

admin

elcetric bus

काठमाडौं— फागुन १३।

सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ ।

सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बस (माथि) र भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकले बुझाएको प्रज्ञापनपत्र । जसमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो ।

उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बस भारतबाट ल्याइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका लागि गत वर्ष पुसमा भएको दुईपक्षीय खरिद सम्झौतामा आपूर्तिकर्ताले चीनमा उत्पादन गरिएका २० सिटे ५ वटा विद्युतीय बस र ७ सिटे ११ वटा मल्टिप्रपोज भ्याकिल (कार) उपलब्ध गराउने उल्लेख छ । तर, २०७५ असोज २८ र कात्तिक १५ गते भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनीले बुझाएको प्रज्ञापनपत्रमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ ।

सम्झौताअनुसार चीनबाट सवारी साधन आयात नभएपछि मन्त्रालयले विद्युतीय बस अस्वीकर गरेको थियो । त्यसपछि आपूर्तिकर्ताले कन्ट्री अफ ओरिजिन चीन भएको अर्कै कागजात उपलब्ध गराएको थियो । तर, भन्सारमा रुजु गर्दा उक्त कागजात नमिलेको पाइएको हो । ‘हामीले चीनबाटै आयात गरिएको भनिएको कागज भैरहवा भन्सारसँग रुजु गर्दा भन्सारमा बुझाइएको प्रज्ञापनपत्रसँग मिलेन,’ कान्तिपुरलाई कागजात उपलब्ध गराएको मन्त्रालय स्रोतले भन्यो । दुई मुलुकबाट आयात गरिएका कागजात आपूर्तिकर्ताले बुझाएपछि यो विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । अख्तियार प्रवक्ता रामेश्वर दंगालले विद्युतीय बस खरिद प्रक्रियाबारे अनुसन्धान थालिएको बताए ।

एसियाली विकास बैंकको १२ लाख डलर (१३ करोड ६४ लाख रुपैयाँ) अनुदानअन्तर्गत दक्षिण एसिया पर्यटन पूर्वाधार कार्यक्रमअनुसार यी सवारी साधन आयात गरिएका थिए । गत वर्ष भदौमा मन्त्रालयले आहवान गरेको टेन्डरबाट चिनियाँ कम्पनी बीवाईडी प्रालिको नेपाली डिलर कम्पनी साइमेक्स इंक छनोट भएको थियो । यससँग मन्त्रालयले पुसमा सम्झौता गरेको थियो ।
मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटले फागुन ३ को सचिवस्तरीय निर्णयबाट साइमेक्स इंकसितको विद्युतीय बस खरिद सम्झौता रद्द गरिसकेका छन् ।

‘एसियाली विकास बैंकको अनुदान भएकाले उसलाई सचिवस्तरीय निर्णयबाट भएको खरिद सम्झौता रद्दबारे जानकारी गराउँदै नो अब्जेक्सन लेटर मागेका छौं,’ स्रोतले भन्यो । उसको पत्र आएपछि मन्त्रालयले प्रचलित कानुनअनुसार आपूर्तिकर्ताबाट क्षतिपूर्ति भराउने छ ।

‘हामीले बसको भन्सारका लागि १ करोड ४३ लाख हाराहारी बुझाएका थियौं, त्यो रकम सार्वजनिक खरिद ऐन/नियमावलीअनुसार आपूर्तिकर्ता कम्पनीसित असुलउपर गर्ने तयारी गरेका छौं,’ मन्त्रालयका एक अधिकारीले भने ।

यस विषयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकका प्रबन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । चिनियाँ बस भनेर आपूर्तिकर्ता कम्पनीले ल्याएका बस भारतमा निर्मित पाइएको र प्राविधिक समितिले जाँच गर्दा सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन दिएको छ । समितिले १७ कैफियत रहेको र स्पेसिफिकेसनमा तोकिएको मापदण्ड नपुगेको प्रतिवेदन दिएपछि मन्त्रालयले ती बस फिर्ता गर्न आपूर्तिकर्ता कम्पनीलाई निर्देशन दिइसकेको छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको