Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

राजधानीको विद्युत् तार भूमिगत बनाइने,वितरण प्रणाली स्वचालित

admin

wire on kathamandu

काठमाडौं— फागुन १३।

भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत् तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नेबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउनेछ ।

प्राधिकरणले गत साता बोलपत्रको नतिजा सार्वजनिक गरेको हो । फागुन ६ गते २८ दिनभित्र सम्झौताका लागि आउन पत्र जारी गरिएको प्राधिकरणले जनाएको छ । ‘कम्पनीलाई ठेक्का सम्झौताका लागि आउन २८ दिन म्याद दिएर पत्राचार गरिएको हो,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यसम्पादन जमानतसहित कम्पनी सम्झौताका लागि आउनुपर्नेछ ।’

प्राधिकरणका महाराजगन्ज आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । ‘ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठबाट काम सुरु गर्ने लक्ष्य तय गरेका छौं,’ अधिकारीले भने, ‘कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेछ ।’

कम्पनीसँग महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता हुनेछ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा गर्नेछ । सबैभन्दा कम रकममा काम गर्न गरेको प्रस्तावका आधारमा भारतीय कम्पनी छनोट भएको हो ।

आयोजनाका लागि यसअघि गरिएको ठेक्कामा सबै दर अनुमान गरिएभन्दा बढी आएपछि रद्द गरिएको थियो । यसअघिको ठेक्का रद्द गरी प्राधिकरणले नयाँ बोलपत्र आह्वान गरेको हो ।
ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्नेछ । पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित प्रणाली जडान गरिनेछ ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (र्स्माट मिटर) जडान गरिने योजना छ । प्राधिकरणले परीक्षणका रूपमा यो क्षेत्रमा तार भूमिगत गर्ने र वितरण प्रणालीलाई स्वचालित बनाउन लागेको हो । भूमिगत विद्युत् तारसहित बिच्छ्याइने अप्टिकल फाइबर इन्टरनेट सेवा प्रदायकलाई भाडामा दिने योजना छ । यसले यी क्षेत्रमा विद्युत्बाहेक इन्टरनेट सेवा वितरणका लागि समेत पोलमा तार राख्नुपर्ने बाध्यता हट्नेछ ।

पहिलो चरणमा काठमाडौंको बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्रमा तार भूमिगत र वितरण प्रणाली स्वचालित बनाउने योजना छ । पहिलो चरणमा यीबाहेक बालुवाटार, गोंगबु, सामाखुसीलगायत महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने स्थानमा पनि काम हुनेछ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । तारलाई भूमिगत गर्न सडक खन्दा ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने प्राधिकरणले जनाएको छ । यो प्रविधिअनुसार केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।

एडीबीले गत वर्ष नेपाललाई विद्युत् प्रसारण र वितरणको प्रभावकारिता अभिवृद्धि गर्न भन्दै १५ करोड डलर ऋण दिएको थियो । काठमाडौं उपत्यकामा प्रसारण तथा वितरण प्रणाली सुधार्नका लागि एडीबीले दिएको ऋण तार भूमिगत बनाउने बोहक सबस्टेसनको स्तरोन्नतिका लागि प्राधिकरणले उपयोग गरिरहेको छ ।

चालु आर्थिक वर्षभित्र ५० वटा सबस्टेसन स्तरोन्नति गर्ने प्राधिकरणको तयारी छ । तीमध्ये ३० वटा ग्रिड र २० वटा सबस्टेसनको स्तरोन्नति र निर्माण गर्ने प्राधिकरणको योजना छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको