chiniya-laganikarta

नेपाल–चीन रेलमार्ग चाँडै सञ्चालन हुनेछ : चिनियाँ लगानीकर्ता

काठमाडौँ — चैत्र १७ ।

चिनियाँ लगानीकर्ताले केरुङ–काठमाडौं रुटमा चाँडै रेल सञ्चालन हुने संकेत दिएका छन् । लगानी सम्मेलनको अन्तिम दिन शनिबारको पूर्वाधारसत्रमा सहभागी भएका चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपमहाप्रबन्धक वाङ लिजिईले सबैको ध्यान खिच्दै भने, ‘दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् ।’

उनी यतिमा मात्र रोकिएनन् । आफ्नो कुरा सुनेर उत्साही भएका सहभागीलाई सम्बोधन गर्दै भने, ‘चीनमा तत्कालीन अध्यक्ष माओले चीन र नेपाल रेलले जोड्ने सपना देखेका थिए । अब यो यथार्थमा परिणत हुँदै छ ।’ केपी ओली नेतृत्वको सरकार गठन भएयता सर्वाधिक चर्चामा रहेका विकास आयोजनामध्ये केरुङ–काठमाडौं रेल अग्रस्थानमा छ ।

यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) सकिएको छ । अब दुई देशका सम्बन्धित निकाय बसेर परियोजनालाई अघि बढाउने लिजिईले जानकारी दिए । यो आयोजनाका लागि ३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । केरुङबाट सुरु भएको रेल यातायातले काठमाडौं मात्र होइन, पोखरा, लुम्बिनी हुँदै भारतसम्म जोडिने उनले बताए ।

रेल निर्माणमा दख्खल राख्ने उनको कम्पनी नेपालमा सार्वजनिक– निजी साझेदारीमा सडक, जलविद्युत् निर्माणलगायतमा लगानी गर्न इच्छुक रहेको बताए । आफ्नो कम्पनीसँग रेल्वेका लागि डिजाइन, निर्माण र सञ्चालनको अनुभव रहेको बताए । चीनमा रेल यातायातको ७० प्रतिशत निर्माण यही कम्पनीले सम्पन्न गरेको उनको भनाइ थियो । अहिले नेपालसहित इन्डोनेसियाको जाकार्ता, म्यानमार, ताजकिस्तान, काजकिस्तानलगायत देश जोड्ने रेलमार्ग निर्माणको काममा संलग्न रहेको उनले बताए । उनले आगामी दिनमा धेरै कम्पनी नेपालमा लगानी गर्न आउने आशा व्यक्त गरे ।

मन्त्रीद्वारा रेलको चर्चा
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार सत्रलाई सम्बोधन गर्नेक्रममा रेल निर्माणको बढी चर्चा गरेका थिए । उनले काठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन एक वर्षभित्र सम्पन्न गरिने जानकारी दिए । ‘चीन र भारत जोड्ने दुवै रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) वर्ष दिनभित्र सम्पन्न गरिनेछ,’ उनले भने । चैतभित्रै चिनियाँ अधिकारीसँग डिपिआर मोडालिटीबारे छलफल गर्ने तयारी भइरहेको उनले बताए । काठमाडौं–पोखरा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि थालिएको मन्त्री महासेठले जानकारी दिए ।

पूर्व–पश्चिम रेलमार्गको डिपिआर पूरा भइसकेकाले लगानीका लागि महासेठले आह्वान गरेका छन् । स्टान्डर्ड गेजमा निर्माण हुने रेलको लम्बाइ ९ सय ४५ किलोमिटर हुनेछ ।

यातायातमा करिब १८ खर्ब चाहिने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले दिगो विकास लक्ष्यलाई हासिल गर्न यातायात क्षेत्रमा बर्सेनि १७ खर्ब ७० अर्ब रुपैयाँ लगानी आवश्यक रहेको तथ्यांकसहितको कार्यपत्र प्रस्तुत गरे । सहसचिव सिग्देलले सडकको घनत्वका आधारमा नेपाल दक्षिण एसियाको तुलनामा निकै पछाडि रहेको र लगानीको प्रचुर सम्भावना रहेको बताए । दक्षिण एसियाको सडकको घनत्व औसतमा १ हजार वर्ग किलोमिटरमा १ हजार १ सय २३ किलोमिटर छ । जबकि, नेपालको १ हजार वर्ग किलोमिटरमा १ सय ३९ किलोमिटर मात्र छ ।

मन्त्रालयले यातायात क्षेत्रमा लगानी गर्न चाहनेलाई लक्षित गरी विभिन्न परियोजना पेस गरेको छ । लगानीका लागि तयार आयोजनामा पूर्व–पश्चिम रेलमार्ग, चीन र भारत जोड्ने रेलमार्ग, चीन एवं भारत जोड्ने करिब ९ वटा उत्तर–दक्षिण सडकमार्ग छन् । जोमसोम, मुक्तिनाथ, स्वर्गद्वारी, पाथीभरा, मौलाकालिका, जालपादेवी, अन्नपूर्ण–सिकलेस र खप्तडमा केबलकार निर्माणमा लगानी गर्न सकिने जानकारी दिइएको छ । त्यस्तै, जल यातायातअन्तर्गत कोसी, गण्डकी र कर्णाली नदीमा पूर्वाधार निर्माण आवश्यक रहेको र थप अध्ययन भइरहेको सिग्देलले जानकारी दिए ।

गंगा नदीबाट सिक्न सुझाब
विश्व बैंकका यातायातविज्ञ अर्नाब बन्द्योपाध्यायले गंगा नदीमा विकास भइरहेको जल यातायततबाट नेपालले कम्तीमा नारायणी र कोसी नदीबाट फाइदा उठाउन सकिने बताए । ‘यसबाट नेपाल भारतसँग मात्र जोडिने नभएर विश्वव्यापी व्यापार शृंखलामा जोडिनेछ,’ उनले भने । उनले जल यातायात विकासमा निजी क्षेत्र अझैसम्म संलग्न नभएको र यसमा लगानी गर्न सक्ने बताए । त्यस्तै, सराफ ग्रुप, कतारका महानिर्देशक सलाह सराफले सबै प्रकारका पूर्वाधार अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

(नयाँ पत्रिका)

दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम शसस्त्रले फाड्यो

रुकुम पश्चिम— चैत्र १७ ।

आठबीसकोट नगरपालिका १२ ठुलिबार्खूमा दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम शसस्त्र प्रहरीले नष्ट गरेको छ । शसस्त्र प्रहरी गुल्म नं. ४७ बाट नियमित गस्तीमा खटेको टोलीले ठूलिबार्खूका विभिन्न ठाउँको अफिम नष्ट गरेको हो ।

शसस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुर्ण कँवरका अनुसार फुल खेल्ने अवस्थाको अफिम नष्ट गरिएको हो । शसस्त्र प्रहरी निरीक्षक वीरेन्द्र जिसीको नेतृत्वमा खटिएको १६ जनाको टोलीले गहुँ बारीमा लगाएको अफिम नष्ट गरेको हो । उक्त गाउँमा कोही नभेटिएपछि अफिम कसले लगाएको हो भन्ने पत्ता नलागेको डीएसपी कँवरले बताए ।

प्रहरीले जिल्लाको विभिन्न ठाउँमा वर्षेनी अफिम फडानी गरेपनि हालसम्म कसैलाई कारवाही गरेको छैन् । प्रहरीका अनुसार अफिम लगाउने व्यक्ति पहिचान हुन नसक्दा कारवाही हुन नसकेको हो । गाउँघर भन्दा टाढा जंगलमा अफिम खेती हुने हुँदा खेती गर्नेको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।

(नयाँ पत्रिका)

hindu rajya banauna hastaxar

हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई ७७ वटै जिल्लाबाट हस्ताक्षर संकलन अभियान सुरु

काठमाडौँ — चैत्र १७ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । उपत्यकाका तीन जिल्लाको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुरु गरिएको छ ।

विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाले जनाएको छ ।

(नयाँ पत्रिका)

sunita-yadav

सुनीता मृत्यु प्रकरण: विवाहको दोस्रो महिनादेखि निरन्तर घर–गाडी दाइजो माग्दै यातना दिएको खुलासा

वीरगन्ज — चैत्र १७ ।

थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । मनोहर आफूसँग त्यति पैसा नभएकाले बुबालाई जानकारी गराउन भन्दै बहिनीलाई घर लिएर आएका थिए । स्थानीय प्रशासनमा सुनीताले दिएको निवेदनमा उल्लेख छ, ‘डा. सचितानन्दले बुवा कमलप्रसाद यादवलाई मारुती कार र घर खरिदका लागि पैसा माग गरेका थिए, बुबाले हाल त्यति धेरै पैसा दिने क्षमता नभएको जवाफ दिएका थिए ।’

निवेदनअनुसार घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थाल्यो । ०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् । एउटा कागजमा सही गर्न नमानेपछि मट्टीतेल छर्केर आगो लगाउने प्रयाससमेत भएको थियो । स्थानीयका अनुसार मट्टीतेल छर्केपछि सुनीता चिच्याउँदै घरबाहिर निस्किइन् । भागेर माइती पुगिन् । त्यसलगत्तै जिल्ला प्रशासनमा उजुरी गरेकी हुन् ।

सचितानन्दले ०६४ सालतिर दाइजोकै लागि सीमावर्ती विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरे । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले दाइजो नलिएको र सुनीतामाथि कुटपिट नगरेको दाबी गरेका छन् । ‘विवाह हुँदा म बेहुला थिएँ,’ उनले भनेका छन्, ‘दाइजोको विषयमा मलाई जानकारी भएन ।’

गम्भीर कुटपिट भएको खुलेपछि सोमबार सुनीताको माइती पक्षले सचितानन्दको परिवारविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको थियो । प्रहरीले अब कर्तव्य ज्यान मुद्दा दर्ता गरिने जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता अनन्तराम शर्माले घटनापछि सचितानन्दको परिवार सम्पर्कविहीन रहेको जनाए।

सुनीताको पक्षमा न्याय माग्दै शनिबार विहान वीरगन्जमा दबाब र्‍याली निकालिएको छ । शिक्षित परिवारमै दाइजोलाई लिएर यस्तो घटना हुनु दुःखद् भएको सहभागीले बताएका थिए।

(कान्तिपुर दैनिक)

pm-kp-brt

थपलियालाई देउवासँग छलफल गरेरै प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम ओली

विराटनगर — चैत्र १७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए ।

‘एकलौटी हैन। हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन। कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो। निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने। प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोका कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे।

उनले लगानी सम्मेलनमा खोट लगाउने ठाउँ नरहेको बताएका छन्। ‘सम्मेलन धेरै उत्साहपूर्ण रह्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सोचेभन्दा धेरै राष्ट्रहरुको सहभागिता पनि थियो। अब नेपालको विकासलाई कसैले रोक्न सक्दैन।’

गत वर्षलाई आधार वर्षको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले भने, ‘संघ, प्रदेश र स्थानीय तहसम्म अहिलेसम्म आधार तयार पार्ने काम भइरहेको छ। कानुनहरुको निर्माण प्रमुख काम थियो। यो क्रम चैत महिना भर जारी रहन्छ। त्यसपछि सरकारको सबै बल विकासमा लागाउने हो।’
अबको वर्ष विकास वर्ष हो। आधार वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने देखिएको छ। यसलाई सकारात्मक मान्नुपर्छ।

‘विश्व बैंक, एशियाली विकास बैंक लगाएत धेरै देशका लगानिकर्ताहरु हाम्रो देशमा लगानी गर्न इच्छुक छन्। केही दिनमा आयोजनाहरु छनोट हुनेछन्,’ उनले भने।

(कान्तिपुर दैनिक)

Jeep-Accident-okhaldunga

ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

काठमाडौँ — चैत्र १७ ।

ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा भएको दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो ।

सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् ।

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकलमा उपचार भइरहेको छ । श्रेष्ठका अनुसार दुर्घटनामा ताप्लेजुङका ५५ वर्षीय मिङमा शेर्पा, ४५ वर्षीय सांगेल शेर्पा, काठमाडाैं बौद्धका ३५ वर्षीय नर्वु शेर्पा र बौद्धकै ४० वर्षीय ङमङ शेर्पाकाे पहिचान खुलेकाे छ । चालक कृष्ण श्रेष्ठ घाइते घाइते छन् । प्रारम्भीक अनुसन्धानबाट तिव्र गतिका कारण दुर्घटना भएकाे हुन सक्ने देखिएकाे निरीक्षक श्रेष्ठले बताए ।

(नयाँ पत्रिका)

एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगको लागि आज अक्सन हुँदै

काठमाडौँ — चैत्र १७ ।

एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो ।

मोरङको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली समावेश छन्। राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ।

रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी छन्। मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्।

आज हुने अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको छ। अक्सनमा ८० जना खेलाडी छन्।

‘ए’ श्रेणीका खेलाडीको न्युनतम मूल्य ४० हजारबाट सुरु हुनेछ भने अधिकतम ७५ हजारसम्म बोली लगाउन पाइनेछ।

‘बी’ श्रेणीको २५ हजारबाट अधिकतम ५० हजारसम्म हुनेछ भने ‘सी’ श्रेणीका खेलाडीको मूल्य १५ हजारबाट सुरु भएर २५ हजारसम्म हुनेछ।

विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यो घरेलु महिला क्रिकेटको सर्वाधिक पुरस्कार राशि हो। उपविजेताको भागमा ५ लाख पर्नेछ।

(कान्तिपुर दैनिक)

messi hattric

स्पेनिस लिग फुटबलमा मेस्सीको गोलले बार्सिलोनाले इस्पानियोललाई हरायो

काठमाडौँ — चैत्र १७ ।

स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे ।

खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।

एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

(ईमेज खबर)

sandeep lamixane at delhi capital

इण्डियन प्रिमियर लिगमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

काठमाडौँ — चैत्र १७ ।

नेपाली खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

दिल्लीस्थित फिरोज शाश कोट्ला रंगशालामा कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा दिल्ली विजयी भयो । यो खेलमा नेपालका लेृग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिए ।

आईपिएल क्रिकेटको १२ औं संस्करणमा पहिलो पटक खेलेका सन्दिपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका हुन् ।

उनले अर्का एक खेलाडीलाई रन आउट समेत गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।

कोलकाताले भने पहिलो हार व्यहोरेको छ । ३ खेलबाट ४ अंक जोडेको कोलकता तालिकाको शीर्ष स्थानमा छ ।

आईपिएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले मुम्बई इण्डीयन्सलाई ८ विकेटले हराएको छ ।

पञ्जावमा भएको खेलमा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्इ पन्जाबले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

पञ्जावको जितमा लोकेश राहुलको ७१ रन महत्वपूर्ण रह्यो ।

(ईमेज खबर)