Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी

पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्री नेपालमै छापिने

admin

money printing

काठमाडौं—फागुन २७।

पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससित समझदारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख गरिएको छ । सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्व रहेको कम्पनी इन ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षरभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने जानकारी दिए । उनका अनुसार सुरक्षण मुद्रण स्थापनाको काम तीन चरणमा हुनेछ । पहिलो चरणमा राहदानी, चेक, लालपुर्जाजस्ता कागजमा छापिने सामग्री छपाइका लागि पूर्वाधार तयार पार्ने, दोस्रो चरणमा कार्डमा छापिने लाइसेन्स, राष्ट्रिय परिचयपत्र छाप्ने पूर्वाधारको स्थापना र तेस्रो चरणमा नोट छाप्ने पूर्वाधार स्थापना हुनेछ । यी तीनै चरणको काम तीन वर्षभित्र सक्ने लक्ष्य तय गरिएको छ । सुरक्षण मुद्रण स्थापनाका लागि कार्यदल बनाएर तीन महिनाभित्र सम्झौता गरिने उनले बताए ।

देशका संवेदनशील वस्तुहरू छाप्ने प्रेसलाई सेक्युरिटी प्रेस भन्ने गरिन्छ । पूर्णतः सरकारी नियन्त्रण र निगरानीमा रहने यस्ता प्रेसले विशेषगरी नोट, राहदानी (पासपोर्ट), राजस्व स्टिकर, चेक, एटीएम कार्ड, स्मार्टकार्डजस्ता संवेदनशील मानिएका छपाइ गर्छन् ।
सरकारले सुरक्षण मुद्रणको काम गर्न २०७३ मा सुरक्षण मुद्रण विकास समिति गठन गरेको थियो । समितिअन्तर्गत सुरक्षण मुद्रण केन्द्र भए पनि आफ्नो पूर्वाधार नहुँदा संवेदनशील छपाइका लागि पनि विदेशी कम्पनीमा निर्भर रहनुपरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले सुरक्षण मुद्रणको अभावमा नेपालले संवेदनशील मानिने नोट, राहदानी, राजस्व स्टिकरसमेत छाप्नका लागि विदेश पठाउनुपर्ने र नेपालसम्बन्धी तथ्यांक र विवरणहरू विदेशीको पहुँच पुग्ने जोखिम भएको जानकारी दिए ।

सरकारले स्थापना गर्न लागेको सुरक्षण मुद्रणमा नोट, राहदानीसहित स्मार्ट लाइसेन्स र बैंकहरूले प्रयोग गर्ने एटीएमसमेत छाप्न सकिने उनले बताए ।

‘अहिले सरकारी छपाइमा मात्रै वार्षिक रूपमा ४–५ अर्ब रुपैयाँ बाहिर जाने तथ्यांक छ,’ उनले भने, ‘सरकारीबाहेकका एटीएम कार्डलगायत छपाइमा पनि वार्षिक ८–९ अर्ब रुपैयाँ बाहिर जान्छ भन्ने अनुमान छ ।’

सुरक्षण मुद्रणको स्थापना आर्थिक नाफाभन्दा पनि सार्वभौमसत्ताको विषय भएको पौडेल बताउँछन् । ‘हाम्रो देशको गोप्य र संवेदनशील वस्तु छाप्न विदेशमा पठाउनुभन्दा आफ्नै भूमिमा सरकारको निगरानीमा छाप्नु सुरक्षित हुन्छ,’ उनी भन्छन्, ‘तथ्यांक सुरक्षाका लागि पनि यो महत्त्वपूर्ण छ ।’

२०७३ साउनमा लगानी बोर्ड बैठकले पनि तत्काल सुरक्षण मुद्रण स्थापना गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा बोर्डले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष युवराज खतिवडा, मुख्यसचिव सोमलाल सुवेदी र बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राधेश पन्त सम्मिलित समितिले दिएको प्रतिवेदनका आधारमा बोर्डले सेक्युरिटी प्रेस स्थापना गर्ने निर्णय गरेको हो ।
लगत्तै सरकारले सोही वर्ष कात्तिकमा सुरक्षण मुद्रण विकास समितिको गठन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव समितिको अध्यक्ष रहने गठन आदेशमा उल्लेख छ । सरकारले बैंक नोट, पासपोर्ट, हुलाक टिकट, राजस्व स्टिकरसहित सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीहरू नेपालमै छपाइ गर्ने कार्यदेश समितिलाई दिएको छ ।

समितिअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रेस सञ्चालनका लागि सरकारसँग काभ्रेमा निर्मित आईटी पार्ककको भवन र जग्गा माग गरेको छ । केन्द्रले सेक्युरिटी प्रेस स्थापनाका लागि डीपीआर तयार पार्ने र विद्युत् पूर्वाधारसम्बन्धी कामका लागि आहवान गरेका बोलपत्र मूल्यांकन चरणमा छन् । चालु आर्थिक वर्षको बजेटमा मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण कम्पनीमा रूपान्तरण गर्न र गुणस्तरीय छपाइका लागि पूर्वाधार निर्माण गर्ने भन्दै ६५ करोड विनियोजन गरिएको छ ।

मन्त्री बाँस्कोटाले फागुन १९ देखि २४ गतेसम्म फ्रान्सको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापनाका लागि फ्रान्सको अर्को कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । स्याटेलाइट स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्सको थेल्स एलेनिया स्पेसबीच समझदारी भएको हो । सुरक्षण मुद्रण र स्याटेलाइट स्थापनाको दुवै परियोजना तीन महिनाभित्र सम्झौता गरी कार्यान्वयन चरणमा लैजाने समझदारीमा उल्लेख छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको