Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

ब्रेक्जिट ‘डिल’ संसदबाट फेरि अस्वीकृत, अनिश्चय अझै बढ्यो

admin

लन्डन —फागुन २९।

बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसद्मा निर्णयार्थ राखेको प्रस्ताव दोस्रो पटक पनि बहुमत सांसदहरूले अस्वीकार गरी दिएका छन् ।

गएको राती ब्रिक्जिट बारेको अर्को प्रस्ताव पनि सांसदहरुले अस्वीकार गरे पछि बेलायती प्रधानमन्त्री थेरेसा मेलगायतका नेताहरु । तस्बिर : एएफपी ।
यसले गर्दा १७ दिन पछि ब्रिटेन ईयूबाट बाहिरिने छ वा छैन भन्ने बारेको अनिश्चय अरू बढेको छ ।

बेलायती संसद् हाउस अफ कमन्समा मङ्गलवार ३९१ सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गरे भने २४२ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्रीकै दल कन्जरभेटिभका ७५ सांसद र अर्को सत्तारुढ दल डेमोक्रयाटिक युनियनिष्टका १० सांसदले प्रधानमन्त्री मेको विरुद्ध मत हालेका थिए ।

संसद्मा हारपछि प्रधानमन्त्री मेले भनिन्, ‘सदनले आज राती गरेको निर्णयप्रति मलाई खेद छ तर हामीले युरोपेली सङ्घसँग गरेको यो सम्झौता बेलायतको हितमा छ र वास्तवमा यो एक मात्रै बाटो हो भन्नेमा म विश्वस्त छु ।’

गत जनवरी महिनामा पनि प्रधानमन्त्री मेले राखेको प्रस्तावलाई बहुमत सांसदहरूले अस्वीकार गरिदिएका थिए ।

प्रधानमन्त्री मेले अब बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा संसद्मा मतदान गराइने बताएकी छिन् ।

यदि बुधवार हुने मतदानमा बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने भन्ने प्रस्ताव अस्वीकृत भएमा बिहीबार धारा ५० को म्याद बढाउने प्रस्तावमा मतदान गराइने पनि प्रधानमन्त्रीले बताएकी छन् । उनले यो विषय ब्रिटेनको भविष्यका लागि अत्यन्तै गम्भीर महत्त्वको भएको पनि जनाइन् ।

उनले आफ्नो दलका सांसदहरूलाई बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा स्वतन्त्र रूपमा मतदान गर्न दिइने पनि बताइन् ।

धारा ५० मा कुनै सदस्य मुलुकले कसरी ईयू छाड्न सक्छन् भन्ने उल्लेख छ ।

यसैबिच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले देशमा आम चुनाव गराउन आव्हान गरेका छन् । उनले भने, ‘आजको मतदानमा पनि सरकार भारी मतले पराजित भएको छ र संसद्को विश्वास गुमाएको छ । त्यसैले ताजा जनादेश लिनुको अब कुनै विकल्प छैन ।’

ब्रेक्जिट सम्बन्धी ईयूका मुख्य वार्ताकार मिसेल बार्नियेले एक ट्विट गर्दै भनेका छन्, ‘ईयूले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हो । अब यो विषयलाई युकेले मात्रै सुल्झाउन सक्छ ।’

युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कका प्रवक्ताले ‘नो डिल’ को सम्भावना बढेको बताएका छन् । ‘दुवै पक्षबीच गत नोभेम्बरमा भएको सम्झौता संसद्बाट पारित गराउन बेलायत सरकार असफल भएबाट हामी निराश छौँ’, टस्कका प्रवक्ताले भनेका छन्, ‘हामीले हाम्रो तर्फबाट सम्भव भएसम्म प्रयास गर्‍यौँ । तर, मङ्गलवार साँझको मतदान परिणामले बिना सम्झौता बाहिरिने सम्भावना बढेको छ, हामी यसका लागि तयार रहनेछौँ ।’

प्रधानमन्त्री मे अन्तिम समयसम्म पनि ब्रेक्जिट डिल पारित गराउने कसरतमा लागेकी थिइन् । मेले सोमबार फ्रान्सेली सहर स्ट्रासबर्गमा युरोपेली युनियनका वरिष्ठ अधिकारीहरूसँग छलफल गरी कानुनी प्रत्याभूतिका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएकी थिइन् । ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट ‘कानुनी रूपमा बाध्यकारी प्रत्याभूति’ प्राप्त भएको मेको भनाई थियो ।

पछिल्लो प्रस्तावित सम्झौतामा युरोपेली युनियनको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायती राज्य उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखिएको छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको