japan new yug

जापानमा ‘रेइवा’ युग, अकिहितोले राजगद्दी त्याग्ने घोषणा गरेसँगै मे महिनादेखि युग परिवर्तन

टोकियो — चैत्र १९ ।

जापानमा आगामी मे १ देखि सुरु हुने नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । जापानमा सम्राट् परिवर्तन भएसँगै युगको नाम पनि नयाँ राख्ने गरिन्छ । युगका नाम चिनियाँ परम्परागत अक्षरबाट राखिने चलन भए पनि यस पटक जापानी कविता मन्योसुबाट लिइएको छ ।

जापानमा नयाँ युगको नाम घोषणा गरिएसँगै प्रकाशित अखबारको अतिरिक्त संस्करण लिन जम्मा भएका सर्वसाधारण ।

वर्तमान सम्राट् अकिहितोले यही महिनाको अन्त्यमा राजगद्दी त्याग्ने भएपछि हाल चलिरहेको ‘हेइसेई’ युग अन्त्य हुनेछ । सामान्यतः जापानका सम्राटकाे निधन भएर अर्कोले गद्दी सम्हालेपछि नयाँ युगको घोषणासँगै नाम सार्वजनिक गरिन्छ ।

तर वर्तमान सम्राट् अकिहितोले आफ्ना युवराज नारुहितोका लागि राजगद्दी त्याग्ने भएकाले हालको अवस्था भने फरक छ । नागरुहितोले मे १ बाट राजगद्दी सम्हाल्नेछन् ।

मन्त्रिपरिषद् प्रमुख सचिव योसहिहिडे सुगाले यसअघि अनुमान गरिएको युगको नामा सोमबार सार्वजनिक गरेका हुन् । जापानी प्रधानमन्त्री सिन्जो अबेले राष्ट्रका नाममा सम्बोधन गर्दै नयाँ युगको नामको अर्थको बुझाएका छन् ।

प्रत्येक सम्राट्को शासन अथवा ‘गेङ्गो’ को एक नाम हुन्छ, जसको प्रयोग वर्षहरूको गणनाका लागि पश्चिमा पात्रोसँगै गरिन्छ । गेङ्गोको नाम त्यसको कालखण्ड जनाउन पत्रपत्रिका, सिक्का, सवारी चालक अनुमतिपत्र तथा सरकारी कागजातमा उल्लेख गर्ने चलन छ ।

नयाँ युगको नाम ‘रेइवा’ दुई शब्द ‘रेई’ र ‘वा’ ले बनेको छ । रेईको अर्थ ‘आदेश’ अथवा ‘शुभ’ हो भने ‘वा’ को अर्थ ‘सद्भाव’ वा ‘शान्ति’ ।
प्रधानमन्त्री अवेले मन्योशु जापानको ‘महत्त्वपूर्ण सार्वजनिक संस्कृति र लामो परम्परा’ को प्रतीक भएको बताए । ‘हाम्रो देश ठूलो परिवर्तनको मोडमा छ, तर हामीले जापानका मूल्य मान्यतालाई हराएर जान दिनुहुँदैन,’ अबेले सञ्चारकर्मीसँग भने ।

प्रत्यक गेङ्गोको नामको उद्देश्य आगामी दशकहरूको अवस्था तथा गुणस्तर निर्धारण गर्नु हो । जुन अधिकांश जापानीका लागि जनजीवनको एक महत्त्वपूर्ण हिस्सा हुन्छ ।

सोमबार सार्वजनिक गरिएको युगको नाम विभिन्न अनुमान र मन्त्रिपरिषदको गोप्य छलफलपछि छनोट गरिएको हो । शब्द विज्ञ र प्राज्ञहरूको समूहले गरेको निर्णपछि मात्र युगको नाम घोषणा गरिएको हो । व्यापक प्रयोगमा भए पनि विश्वव्यापी प्रभावका कारण गेङ्गो पात्रोको भने जापानमा लोकप्रियताघट्दै गएको छ ।

जापानका वर्तमान सम्राट् अकिहितो ८५ वर्षका छन् । उनले उमेरका कारण यही महिनाको अन्तिम दिन राजगद्दी त्याग गर्दै छन् । उनी दुई शताब्दीयता राजगद्दी त्याग्ने पहिलो सम्राट् हुन् । १९८९ मा शासन सुरु गरेका अकिहितोको युगलाई‘हेसे’ भन्ने गरिन्छ । त्यसअघिकासम्राट् हिरोहितोको युगलाई ‘शोवा’भन्ने गरिन्थ्यो ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *