साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न,निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा भ्रामक : आपूर्ति मन्त्री मातृका प्रसाद यादव

साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न, काठमाडौं, २७ भाद्र -उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । मन्त्री यादवले सरकारले कहिल्यै पनि गुणस्तरियतामा सम्झौता नगर्ने बताउदै नुन बिक्रि वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको काममा सरकार बाधक नभएको पनि स्पष्ट पारे । मन्त्री यादवले थप बोल्दै सरकारले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना नभएको प्रष्ट्याउँदै केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समाचार सम्प्रेषण गरेको टिप्पणी गरे । साथै, त्यस्ता भ्रमित र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे । तर कर्पोरेशनलाई समय अनुसार परिवर्तित हुन भने उनले आग्रह गरे । मन्त्री यादवले मुल्यवृद्धि गर्ने सोच नराख्न भन्दै ब्यवसायीलाई चेतावनी दिए । उनले दशैंतिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनु पर्नेमा जोड दिए । चाडपर्वमा मात्रै सहुलियत पसल सञ्चालन गर्ने परिपाटीलाई अन्त्य गरी उपभोक्ताको हितका लागि बार्है मासा सहुलियत मूल्यका पसल सञ्चालन गर्नुपर्ने बताए । मन्त्री यादवले साल्ट ट्रेडिङ कर्पोरेशनले स्थापनाकाल देखि नै उपभोक्ताको हक हितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आम उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा उत्कृष्ट रहेको जिकिर समेत गरे । कार्यक्रममा सभापतिको आसनबाट सभालाई सम्बोधन गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मी दास मानन्धरले कर्पोरेशनले आम उपभोक्ताको चाहना र सरकारको निर्देशन अनुरुप सेवा विविधिकरणमार्फत सुपथ एबम् सहुलियत दरमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको जनाए । अध्यक्ष मानन्धरले कर्पोरेशन सदैव जनताको हितमा प्रतिबद्ध रहदै लागिरहने प्रण समेत गरे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजिकरण गर्ने सरकार सदैव तयार रहेको बताए । कर्पोरेशनले खेलेको भूमिकालाई प्रशंसा गर्दै बजारमा अस्वभाविक रुपमा बढ्ने मुल्य वृद्धिलाई रोक्न यसले सहयोग पूर्याएको बताए । कर्पोरेशनले कार्यक्षेत्रलाई विविधिकरण गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजान पनि उनले आग्रह गरे । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव तथा सञ्चालक समितिको सदस्य नवराज ढकालले खाद्यान्न आपूर्तिलाई सुगमदेखि दुर्गम जिल्लासम्म कर्पोरेशनले महत्वपूर्ण भूमिका खेलेको बताए । निजि क्षेत्रलाई नुन बेच्न नदिएको कुरा उनले दोहोर्याए । त्यस्तै, वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ्गले सेवा प्रदायिकताको विशिष्ठिकृत नमुना पेश गर्दै आएको उल्लेख गर्दै बजार मुल्य नियण्त्रण तथा नियमनका निम्ती सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताए । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहयोगबाट संस्थानले गरेको प्रगतिलाई आत्मसाथ गर्दै संस्थानले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताईन् । दशैंतिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छु्ट समेत प्रदान गरेको जानकारी गराईन् । उनले सन् १९८५ को तथ्याङ्क अनुसार नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोमा त्यो संख्या झरेर हाल ०.४ प्रतिशत कायम भएको तथा संस्थानले सरकारले दिएको जिम्मेवारी र पाएको अधिकारलाई आम उपभोक्तामा पूर्याउन सफल भएको बताइन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजि क्षेत्रलाई नुन बेच्न दिए जनता एकदिन नुन खान नपाएर मर्ने खुलाशा गरे । उनले कर्पोरेशनले उपभोक्ताको हितमा अनुकरणिय कार्य गर्दै आएको पनि बताए ।

साल्ट ट्रेडिङ कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले कर्पोरेशनले सरकारको गार्हो सार्होमा साथ दिदै आएको प्रसंग कोटयाउदै सरकारले पनि कर्पोरेशनलाई साथ दिएमा मात्रै सबैको जित सुनिश्चित हुने तर्क अघि सारे । कर्पोरेशनले विभिन्न समाजसेवा मार्फत उत्कृष्ट कार्य गरेवापत ७५ हजार राशी सहितको बाल हितकारी पुरस्कारबाट गोसाइ स्थान नैमिसारस्य क्षेत्र बिकास समिति, गुरुकुल बनेपालाई पुरस्कृत गरियो । गुरुकुलका तर्फबाट मुकुन्द प्रसाद उपाध्यायले पुरस्कार ग्रहण गरे । साथै, हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी सेवा पुरस्कार अधिकृत स्तरमा जितेन्द्र शाह, सहायक स्तरमा विमल खनाल र श्रेणीविहिन तर्फ बिष्णु केसीले प्राप्त गरे । यस्तै ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट अधिकृत स्तरमा उमेश कुमार ओझा, सहायक स्तरमा सुदिपसिहं रायमाझी र श्रेणीविहिन तर्फ सञ्जय कमाचार्य पुरस्कृत भएका छन् । साल्ट ट्रडिङ छात्रवृत्ति अन्तर्गत एसर्इर्इमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीहरुलाई समेत पुस्कार वितरण गरिएको थियो । पुरस्कार अन्तर्गत साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति अमोज लामिछानेका छोरा अभिषेक लामिछाने र साल्ट ट्रेडिङ लोकनाथ छात्रवृत्ति मेघराज ज्ञवालीकी छोरी स्नेहा ज्ञवालीले प्राप्त गरे । समारोहमा पूर्व मन्त्री सुनिल थापा, नेपाल सरकारका वहालवाला तथा अवकाश प्राप्त उच्च अधिकारी, उपभोक्ता अधिकारकर्मी, उद्योगी ब्यवसायी, कर्पोरेशन संचालक समिति सदस्य एबम् शेयर धनी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार आदीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *