भिजिट भिसामा खाडी र अफ्रिकी देश जान महिलालाई कडाइ

सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।

अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।

यसबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ । ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ । महिला वा पुरुष जुनसुकै व्यक्ति पनि पर्यटक भिसामा जाँदा अध्यागमनले हेर्ने कागजात थप गरिएको छ । अमेरिका, क्यानाडा, यूरोप, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया भ्रमणमा जाँदा पासपोर्ट, भिसा, आतेजाते टिकट र बोर्डिङ पास अनिवार्य हुनेछ । यसबाहेक स्पोन्सर लेटर, होटेल बुकिङ वा साथमा १ हजार डलरसम्म बोकेको प्रमाण देखाउनुपर्ने छ । ती देशमा आफु कालोसुचीमा नरहेको प्रमाणित हुने पत्रसमेत अध्यागमनले माग्ने भएको छ । चीन, थाइल्याण्ड, अफ्रिकी मुलुकबाहेक नेपालीका लागि अनअराइभल भिसा पाउने मुलुक तथा भारत र बंगलादेशबाहेक सार्कका अन्य देशको भ्रमणमा जाँदासमेत सोही प्रावधान राखिएको छ । भारत जाने क्रममा भने राहदानी वा नागरिकता, बोर्डिङ पास हेरिनेछ । भारत जाँदा त्यहाँबाट कन्टेक्टिङ फ्लाइटमा अन्य मुलुकमा जाने गरी भिसा लिएको भए त्यसको अध्यागमनले परीक्षण गर्ने भएको छ । अध्ययनका लागि जाँदा पासपोर्ट, भिसा, बोर्डिङ पास, एड्मिसन वा अफर लेटर, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र र बास खर्चको व्यवस्थापन वा बसोबास कहाँ, के कसरी हुने हो भन्ने खुलासा भएको कागजात देखाएउनुपर्नेछ ।

तालिममा जाँदा पनि पासपोर्ट, भिसा, बोर्डिङ पास, टू वे टिकट, स्पोन्सर लेटर, होटेल बुकिङमा १ हजार डलरसम्म रकम साथमा बोकेको प्रमाण पेश गर्नुपर्छ । त्यसबाहेक निमन्त्रणा पत्र र आफ्नो परिचयपत्र समेत अनिवार्य बोक्नुपर्ने प्रावधान ल्याइएको छ । श्रम भिसामा जानेको हकमा पासपोर्ट, भिसा, अन्तिम गन्तव्यसम्म पुग्ने गरी जारी भएको बोर्डिङ पास, श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिने भएको हुनुपर्ने भएको छ । यूरोपमा भने श्रम स्वीकृति अनिवार्य गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *