मदन स्मारक माध्यमिक विद्यालयको जग्गा अतिक्रमण

राष्ट्रखबर-

काठमाडौं, फागुन २ – ललितपुर महानगरपालिका पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको क्षेत्रभित्र रहेको जग्गा अतिक्रमणमा परेको छ । बाटो विस्तार गर्ने क्रममा सरकारी विद्यालयको झन्डै ७ करोड मूल्यबराबरको ८ आना जग्गा अतिक्रमणमा परेको हो । ललितपुर–३ र २० नम्बर वडाको सिमानामा पर्ने विद्यालयको पूर्वतर्फको खाली जग्गाका विषयमा सडक विस्तारका क्रममा दुई वडाध्यक्षले मापदण्डविपरीत एकतर्फी निर्णय गर्दा अतिक्रमणमा परेको स्थानीयको आरोप छ । स्थानियले व्यापारिक भवन बनाउन सडक मापदण्ड नपुगेकाले विद्यालयको जग्गा अतिक्रमण गरी सडक फराकिलो बनाउन लागेको भन्दै विरोध जनाएका छन् । विद्यालय २०६८ सालमा विद्यालयको पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन क्लासिक डाइमन्सलाई दिने निर्णय गरेको थियो। सोही सहमति अनुरुप ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सा पासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीयको दावी रहेको छ । स्थानियले विद्यालय र क्लासिक डाइमन्सबीच भएको सम्झौता खारेज गर्न माग गरेका छन् । तर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो कार्य नियमसंगत नै गरिएको दाबी गरेका छन् । सडकको अर्कोतर्फ मिश्रित बस्ती भएकाले मापदण्ड लागू नहुने महानगरको तर्क रहेको छ । विद्यालय व्यवस्थापन समितिले भने आफूहरूलाई जानकारी नै नदिई विद्यालयको पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद पौडेलले जनप्रतिनिधिसँग छलफल भए पनि विद्यालय व्यवस्थापन समितिबाट निर्णय नभएको बताए । विद्यालय बचाउ अभियानमा सक्रिय पृथबिन्दु महर्जन, महेशराज बज्राचार्यलगायतका स्थानीयले १९ वैशाखमा जिल्ला प्रशासनलाई लिखित रूपमै ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रशासनले भइरहेको काम रोक्न निर्देशन दिएको थियो । यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गरेका छन् । विद्यालय बचाउ अभियानमा सक्रिय स्थानीय पृथविन्दु महर्जनले केही पहुँचका व्यक्तिको मिलेमतोमा सडक विस्तारको नाममा विद्यालय जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको बताइन् । उनले यो सम्झौता खारेज गर्न माग गरिन् । विद्यालयको नाममा कुल २५ रोपनी जग्गा रहेको छ । यी जग्गासमेत विभिन्न समयमा लिजमा दिइएको छ । मापदण्डनुसार सडक विस्तार गर्दा सडकको केन्द्रबाट दाँयाबाँया ९ फिट बढाउनुपर्ने र यसका लागि दुवैतर्फ बराबर अर्थात् साढे ४ फिट मात्र बढाउनुपर्ने नियम रहेको छ । तर, यसलाई बेवास्ता गर्दै महानगरपालिकाका २ वडाले विद्यालयतर्फको भागमा मात्र ९ फिट बढाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *