अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपक डोटेलको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण आम नेपाली मात्र नभई विश्व समुदाय नै एक ढिक्का हुन अपरिहार्य रहेको औंल्याउँदै उहाँले नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनुपर्नेमा जोड दिनुभयो ।

संकटको समयमा सरकारलाई हातमा हात, काँधमा काँध मिलाई संक्रमणको विरुद्धमा लाग्ुनपर्ने समयमा विभिन्न बहानामा कालोबजारी भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य नै नरहे सम्पत्तीको कुनै अर्थ नरहेकोले सबै व्यक्ति संस्था तथा जिम्मेवार निकायले संकटको आगोमा घ्यु थप्ने नभई मानवताको भावनाबाट अघि बढ्न आग्रह गर्नुभयो ।

लामो समयसम्म सामाजिक क्षेत्रमा आफ्नो जीवन व्यतित गर्नुभएका समाजसेवी तथा नेता डोटेलले सडकमा रहेका मानिस तथा बालवालिकाको संरक्षण तथा संमद्र्धनमा समेत विशेष योगदान पुर्याउनुभएको छ । उहाँले हाल पनि ७ जना वालवालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्न सहयोग गरिरहनुभएको छ ।

आफ्नो स्थापनाको ९ वर्ष पुरा गरेको मध्यपुर अस्पतालमा १०० शैयाको बेड रहेकोमा हाल कोरोना भाइरस विरुद्धको तयारीको लागि १० बेडको व्यवस्थापन गरेको छ । त्यस्तै अस्पतालले वृद्धा, असहाय, सडक वालवालिकाको लागि पनि ८ वटा बेडको निशुल्क व्यवस्था गरेको छ भने वृद्धा, असहाय, सडक वालवालिकाको निशुल्क उपचार समेत गर्ने गरेको छ ।

फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपालीमा कोरोना भाइरस पोजिटिभ

— फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।

उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी १९ वर्षीया युवती रहेको र अस्पतालमा उपचाररत रहेको पनि उनले जानकारी दिए।

न्यूयोर्कमा दुई नेपालीलाई कोरोना भएको पुष्टि, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

एजेन्सी,
अमेरिकाको न्यूयोर्क राज्यमा दुई नेपालीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । दुबैको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । संक्रमतिमध्ये एक न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने उबर चालक हुन् । पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएपछि प्राथमिक उपचारको लागि गएको र चारदिन फलोअपमा बोलाइएको थियो । फलोअपमा दिइएको एन्टिबायोटिक औषधी खाँदा स्वास्थ्य स्थिती झनै खराब भएपछि उनलाई ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सिटिएमडीमा रिफर गरिएको थियो । सिटिएमडीमा उपचार गर्दा अक्सिजनको स्तर कम र निमोनियाको संक्रमण देखिएपछि एल्महर्स्ट अस्पताल जान भनेपछि अस्पतालले उनलाई अघिल्लो शनिबार भर्ना गरेको हो । उनकी श्रीमतीले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् । उनका अनुसार बिहिबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाएको छ । ४६ वर्षका ती नेपालीलाई विगतमा कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक स्रोतले बताएको छ ।

यस्तै, न्यूयोर्कको क्विन्समा रहेको एल्महर्स्ट अस्पतालमा उपचारका लागि पुगेका ५० वर्षका अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि ज्वरो आएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका थिए । प्रारम्भिक परीक्षणपछि कोरोनाको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा उनी संक्रमित भएको पुष्टि भएको थियो । दुई दिनदेखि उनको स्वास्थ्यस्थिती गम्भीर रहेकोले भेन्टिलेटरमा राखेको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ । मधुमेहका रोगी उनलाई अन्य समस्या भने नभएको पारिवारिक स्रोतले बताएको छ । परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको र उनीहरुको मंगलबारसम्म रिपोर्ट आउने अनुमान गरिएको छ ।

कोरोना कहरः विश्वभर अहिलेसम्म १४,६०० बढीको मृत्यु

चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् । भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि भारतका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ ।

कोरोनाका कारण अर्थ व्यवस्थामा परेको असर बारे चेम्बरले गर्यो सुझाव पेश

काठमाण्डौं, ९ चैत्र -कोरोना भाइरस (कोभिड-१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा चेम्वरले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार समक्ष सुझाव पेश गरेको छ । सुझाव पेश गर्दै चेम्बरले तत् संबन्धमा अध्ययन गरिरहेको र यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउनुस पर्ने उल्लेख गरेको छ । चेम्बरले सुझाव पेश गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नूपर्ने आयकर तथा मूल्यअभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै हाललाई समस्याको समयावधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भूक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिईएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्थाहुनु पर्ने धारणा राखेको छ । साथै, कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले सरकारलाई अनुरोध गरेको छ ।

बहराइनमा तीन नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमण

काठमाडौं । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए ।

साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, चैत ९ । साधना सांगीतिक विमोचन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘साधना संगीत नै जीवन हो’ भन्ने मूला नाराका साथ स्थापना भएको ‘साधना’ संस्थाले गरेको संगीत साधना प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

शनिबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एन्ड पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सो अवसरमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मूल नारा लिएर विश्वसामू नेपाल चिनाउन अग्रसर रहेका गायक धिरज राई र सञ्चारकर्मी गीता अधिकारीलाई सम्मान गरिएको थियो ।

गायक धिरज राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीत साधना प्रतियोगितामा प्रथम हुने राजन श्रेष्ठ, द्वितिय हुने सुशिल गजमेर र तृतीय हुने रितु सिवालाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई यमन इन्टरटेन्मेन्टले उपहार स्वरुप प्रदान गरेको तीन गीत सहित साधनाको शीर्षगीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । सार्वजनिक गीत ‘साधना’, ‘चौतारी मेलैमा’, ‘मायाको बन्धन’, ‘भूल’मा तरावीर पाण्डेको संगीत रहेको छ भने रचना साधना परिवार, प्रेम खत्री, दीपा विष्ट र दीलीप घिमिरेको रहेको छ ।

तारावीर पाण्डेको सहजिकरण र साधना परिवारको संस्थापक कुशल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायीका टिका प्रसाईं, गायक सडज लिम्बु सम्बाङफे, सबिन लिम्बुलगायतका अतिथिहरु रहेका थिए ।

रजनी सचेतना नेपाल फाउन्डेसनले बाड्यो २० हजार मास्क

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसको जोखिम विरुद्धको महाअभियानमा रजनी सचेतना नेपाल फाउन्डेसनले सक्रियता बढाएको छ। तीनै तहको सरकार कोरोना सम्बन्धमा सक्रिय नहुँदै रजनी सचेतना नेपाल फाउन्डेसनले गत माघ २३ गते देखि नै कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन गरेको छ।

अभियान अन्तर्गत टोखा नगरपालिकास्थित एघारै वटा वडाका सर्वसाधारणलाई लक्षित गर्दै फाउन्डेसनले निस् शुल्क मास्क र कोरोना भाईरस सम्बन्धि सचेतना मुलक पर्चा वितरण गरेको छ। फाउन्डेसनको सक्रियतामा प्रत्येक वडामा सचेतनामुलक ब्यानर समेत राखिएको छ। फाउन्डेसनका अध्यक्ष रजनी थापाका अनुसार हालसम्म २० हजार थान मास्क वितरण गरिएको छ।

फाउन्डेसनका अध्यक्ष थापाले महामारीको जोखिमबाट बच्न र जनताको सेवा गर्न सरकारको मुख नताकी काम गर्दै आएको बताइन। कोरोना भाईरसको जोखिमलाई पार गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने र सबैले आफू सुरक्षित रहि आफ्नो क्षमताले भ्याएसम्म अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुपर्ने बताइंन।

स्थापना भएको तीन वर्ष नबित्दै रजनी सचेतना नेपाल फाउन्डेसन सामाजिक कार्यमा सक्रिय रहेको छ। फाउन्डेसनले निशुल्क दन्त परिक्षण, जेष्ठ नागरीक सम्मान, विभिन्न विषयक प्रशिक्षण लगाएतका दर्जनौं भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। राजनीतिकर्मी मात्रै नभइ समाजसेवीको समेत परिचय बनाउन सफल रजनी थापा नेपाली कांग्रेसकी युवा नेतृ हुन। उनी टोखा नगरपालिकामा उपमेयरकी उम्मेदवार थिइन्।

कोरोनाका कारण नेपालसँग सीमा जोडिएको बिहारमा एक युवकको ज्यान गयो

काठमाण्डौ – नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमणबाट एक युवकको ज्यान गएको छ । राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको भारतीय सञचारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती पुरुषको मिर्गौला खराबका कारण शनिबार बिहान ज्यान गएको स्थानीय पत्रकार नीराज सहायले जानकारी दिनुभयो । योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।

यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए । यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो ।