कोरोनाले तहसनहस इटाली : अस्पतालका सिँढीभरि लास ओसार्न लाइनमा सैनिक ट्रक

७ चैत, काठमाडौं । चीनको वुहानबाट उत्पत्ति भएपनि हाल कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बनेको छ, युरोपको इटाली । कोरोनाले इटालीलाई तहसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्रभावित ठाउँ हो, लोमबार्दी ।

लोमबार्दीस्थित बुर्गेमो अस्पतालको सिँढीसमेत लासहरुले भरिएका छन् । इटालियन संस्कारअनुसार मृतकलाई चिहानघरमा लगेर गाड्ने गरिन्छ । तर, चिहानघर सबै भरिएपछि जलाउनुपर्ने अवस्था निम्तिएको छ । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ ।

मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि लस्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बुर्गेमो अस्पत्तालमा सघन उपचार (इन्टेन्सिभ केयर) का लागि विरामीहरुलाई लाईन लगाएर राखिएको छ । चिकित्सकले उपचार गर्न भ्याएका छैनन् । नयाँ विरामी थपिने क्रम उत्तिकै छ । लासहरु बेरेर सिँढीमा राखिएको छ । ती लास उठाउन १५ वटा सैनिक ट्रक लाम लागेर पर्खिएका छन् ।

कोरोना उत्पत्ति भएको चीनमा भन्दा इटालीमा मृतकको संख्या बढि भइसकेको छ । चीनमा अहिलेसम्म ३२ सय ४५ को ज्यान गएकोमा इटालीमा ३४ सय ५ पुगेका छन् । बिहीबार एकै दिन इटालीमा चार सय २७ को मृत्यु भएको छ । संक्रमण फैलिने र मृत्यु हुने दर तिब्र छ । बिरामीको उपचार र मृतकको व्यवस्थापन गर्न समस्या भएको छ । चिकित्सकहरुले स्वास्थ्य क्षेत्र संकटमा पुगेको बताइसकेका छन् । अस्पतालमा ठाउँ नभएर स्वास्थ्यकर्मीले टेन्ट गाडेर उपचार गराइरहेका छन् । लोमबार्दी क्षेत्रमा चिकित्सक र नर्सहरुको संख्या सिमित भएकाले धान्न नसक्ने अवस्थामा पुगेको लोम्बार्दीको स्थानीय सरकारले बताइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *