प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।

स्वयंसेवकका नाममा सडकमा उत्रेकाले काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि दुर्व्यवहार गरेका थिए । यसको अभियोगमा स्थानीय उत्तम कार्कीलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगमा कार्कीलाई पक्राउ गरिएको बताएका थिए ।

यही घटना सतहमा आएपछि प्रधानमन्त्री ओलीको निर्देशन आएको हो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको थियो । अन्य जिल्लामा पनि यस्ता घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *