विद्यालयको शुल्क भुक्तानी गर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

राष्ट्रखबर-

काठमाडौं/८ असार– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन–प्याब्सन) ले अभिभावकहरुलाई विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउनका लागि अनुरोध गरेका छन् ।
उनीहरुले अभिभावकहरुलाई विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी आ–आफ्ना छोराछोरीको (नयाँ तथा पुरानो) अभिलेखीकरण गराउन, ०७७ सालमा विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी लगायतका आर्थिक गतिविधिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
कोरोना भाइरस संक्रमणका कारण विद्यालय लामोदेखि समय बन्द हुँदा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयमा कार्यरत दुई लाख बढी शिक्षकले तलब पाउन सकेका छैनन् । शिक्षकहरुले लामो समयदेखि तलब नपाउँदा जीविकोपार्जनमा समस्या आएको गुनासो गरेका छन् भने अर्को तिर भाडामा सञ्चालन भएका निजी विद्यालयलाई कोठा भाडा र बैंकको साँवारब्याज, किस्ता तिर्न समेत समस्या भएपछि प्याब्सन र एन–प्याब्सन दुवैले संयुक्त रुपमा अपिल जारी गरी अभिभावकहरुलाई शुल्क भुक्तानी गरी सहयोग गर्न आग्रह गरेका हुन् । निजी विद्यालयको एक मात्र आर्थिक स्रोत विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क भएकाले अभिभावकहरुलाई यस्तो अपिल गरिएको उनीहरुले जनाएका छन् । सरकारले निजी विद्यालयका लागि राहत नदिएको उनीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *