काठमाडौं, उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो । बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो