नेपाली श्रमिकहरुको गन्तव्य मुलुक ओमानमा आफ्नै भवन बनाउनका लागि ओमानस्थित नेपाली दूतावास तथा ओमान सरकारबीच सम्झौता भएको छ।
ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको दूतावासले जनाएको छ।
नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले जानकारी दिइन्।
ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर, विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४ हजार १ सय वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने उल्लेख गरिएको छ।
हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा ओमानका परराष्ट सचिव मोहम्मद विन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको भन्दै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए। कार्यक्रममा नेपाल ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटनलगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लैजाने समेत कुराकानी भएको थियो।