स्थानीय तहअनुसार आ–आफ्नो क्षेत्रमा निषेधज्ञा हुँदै आएकोमा बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पुरै जिल्लालाई निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले जिल्लालाई नै निषेधत्रा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
राती १२ बजेदेखि लागू हुनेगरी भदौ १८ गते राती १२ बजेसम्म सिल हुने भुसालले बताए ।
यसअघि कायम गरिएको भदौ १५ सम्मको यातायात बन्दलाई समेत १८ गतेसम्मलाई थप गरिएको छ । खाद्यन्न र दूध बोक्ने गाडीहरु बिहान ७ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म संचालन गर्ने निर्णय भएको प्रजिअ भुसालले जानकारी गराए ।
पछिल्लो पटक कोरोना पोजिटिभ व्यक्तिहरु समुदायस्तर, बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा देखिन थालेपछि संक्रमणको जोखिम बढ्दै गएको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ ।
हालसम्म जिल्लामा ४ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसमध्ये ३ सय ७६ जना निको भएर घर फर्किएका छन् । उपचारको क्रममा स्वर्गद्धारी नगरपालिका ७ का एक वृद्धको बुटवलमा कोरोनाकै कारण निधन भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहानसम्म जिल्लाभर ६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । १ सय ६ जनाको पीसिआर रिपोर्ट आउन बाँकी छ ।