
लामो समयदेखि रात्रीको समयमा हुदै आएको मुग्लिन नारायणगढ सडकखण्डको निर्माणका लागि आजबाट अपरान्हको समयमा समेत सवारी–साधन रोकेर काम गरिने भएको छ । रातिको समय भन्दा दिउँसो काममा प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।
आज बाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन। यस अघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने स्थान तय गरेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ भने । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने छ ।
हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको छ ।
