काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।
प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ । माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले निवेदनमा उल्लेख गरेका छन्, ‘मेरो ज्यानमा प्रधानन्यायधीशबाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’