चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।
कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएशन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु धेरै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बा बताउँछन् ।
चियाले आफ्नै पहिचान बनाएपछि चिया खेतीमा संलग्न किसान हषिर्त भएका छन् । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्णरूपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डसमेत निर्धारण गरेको छ । लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । ‘लोगो प्रयोग गर्न चियाको गुणस्तरदेखि कामदारको रोजगारीको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गर्नुपर्छ, चियाविज्ञ सुब्बा भन्छन्, ‘लोगो र निर्देशिका स्वीकृत भयो, अब नेपाली चियाले अन्तर्राष्ट्रिय बजार लिन्छ ।’
लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अग्र्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको प्रत्यक्ष लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा जोड दिनुपर्ने सुब्बाले बताए ।
लोगोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि सगरमाथा बेस क्याम्पमा उद्घाटन गर्ने तयारी भइरहेको छ । विश्वका ठूला क्रेता र विश्वका पत्रकारलाई सगरमाथाको बेस क्याम्प पुर्याएर अपि्रलमा लोगो उद्घाटन गर्ने तयारी भइरहेको होड्पाले जनाएको छ ।
इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने २० वटा ठूला चिया कारखाना छन् । त्यसमध्ये फिक्कल सुन्दरपानीको गोर्खा टी स्टेट, फाकफोकथुमको तीनजुरे चिया उत्पादन कारखाना, साँखेजुङको हिमालयन सांगि्रला, माइपोखरीको सन्दकफुलगायत चिया कारखानाले स्थापनाकालदेखिनै अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् ।
भारतीयले चलाएको कारखानाबाट भारतीय लोगोमै तेस्रो मुलुकमा चिया जाने भएकाले अब नेपालको अग्र्यानिक चियालाई पहिचान दिने अध्यक्ष दाहाल बताउँछन् । भारतको चियाभन्दा नेपालको चिया राम्रो र गुणस्तरीय भएको दाबी गर्दै उनले निर्देशिका साना किसानको उत्पादनलाई समेत समेट्नुपर्ने बताए ।
पछिल्लो समय ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको छ । केन्द्रिय चिया सहकारी संघ इलामका अनुसार नेपालमा ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् ।
नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशतमध्ये पनि पाँच प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ ।