अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदमा छन । शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । आजको २१औँ शताब्दीमा पनि महिलाहरु विभेदमा पर्नु दुखद पक्ष हो । आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व महिलाले गरेका छन । त्यस माथि पनि महिला लैङ्गिक विभेद एवं हिंसाको सिकार बनेका छन । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा पनि महिला माथि हुने हिंसा अझै रोकिएको छैन । भनिन्छ महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन । यो उक्ति अझै व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर छैनन । तर पनि बिभेद गरिएको छ । जहाँ नारी जातिको सम्मान हुन्छ त्यहाँ भगवान् पनि खुसी हुन्छन् । यो उक्तिलाई सवैले मनन् गर्न जरुरी छ ।
संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिई दण्डहीनताको अन्त्य गरिनुपर्दछ । महिला हिंसाविरुद्ध व्यापक जनचेतना जगाउनु पर्छ । महिला हिंसा अन्त्य गर्नु पर्छ । त्यसका लागि कानुनको कार्यान्वयन आजको आवश्यकता हो ।महिला विरुद्धको हिंसा लैङ्गिक असमानताको उपज हो । नेपाली समाज अझै पनि रुढीवादी, कुसंस्कारले जगडिएको छ । महिलाप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहारमा अझै उदारता आउन सकेको छैन । तर आजको युगमा पनि बलात्कार, बोक्सी प्रथा, दाइजो प्रथा, चेलिबेटी बेचबिखन, छाउपाडी प्रथा, बाल विवाह, बहुविवाह आदि कुसंस्कार कायम छ । यी सबै महिला माथि हुने हिंसा हुन ।
महिला अझै आफ्नै घर परिवारबाट घरेलु हिंसाका शिकार भइरहेका समाचार आउँछन । नेपालमा दैनिक ७ महिलामाथि बलात्कार भएको तथ्याङ्कले देखाएको छ । प्रहरीअनुसारका बलात्कार र बलात्कार प्रयाससम्बन्धी घटना ८२ प्रतिशतभन्दा बढी हुने गरेको छ । नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चिता गरेको छ ।महिलाहरुको योग्यता, क्षमता, दक्षताको अझै मूल्याङ्कन भएको छैन । नेपालको संविधानले राज्यको हरेक निकायमा महिलाको समानुपातिक, समावेशी, प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर त्यस अनुसार महिलाहरुको प्रतिनिधित्व हुन नसकेको महिलाहरुको गुनासो छ ।