
नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ ।
संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यकक्षमा भेट गरी म्याद थप लगायत विभिन्न माग राखेको हो । कोभिड १९ महामारीका कारण लेखापरीक्षण कार्यसहित सोको कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै संघले ती कानुनी प्रबन्धको समय तीन महिना थप गरी आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने समय आगामी चैत मसान्तसम्म बढाउन माग गरेको हो ।
आयकर ऐनको दफा ९५ अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । सोही ऐनको दफा ९६ ले अघिल्लो आर्थिक वर्ष (यसपालिको हकमा आव २०७६/०७७) को लेखापरीक्षणपछिको आयकर विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै अर्थात पुस मसान्तभित्रै बुझाइसक्नु पर्छ । कम्पनी ऐन २०६३ को दफा ५१, दफा ७६, दफा ८० र दफा ९२ अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म हुन्छ ।
लोकसेवा आयोगको विद्यमान व्यवस्था अनुसार सरकारी सेवाको परीक्षा प्रणालीमा चार्टर्ड एकाउन्टेन्ट्सको प्रवेश व्यवहारिक नदेखिएकोले चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त व्यक्ति सरकारी सेवामा सहजै प्रवेश गर्न सक्ने व्यवस्था हुनुपर्नेमा संघले जोड दिएको छ । संघ गैर–नाफामूलक संस्था भएकाले कर छुट प्राप्त संस्थाको रुपमा निरन्तरता दिन पनि सो अवसरमा प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।
अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको लागि चार्टर्ड एकाउन्टेन्टसलाई साथमा लिए अघि बढ्ने प्रतिबद्धता जनाए । संघले अघि सारेको मिति थप गर्ने विषय लगायत अन्य मुद्दामा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् ।
