नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरबहादुर तामाङ ओली समूहमा फिर्ता भएका छन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपश्चात दुई समूहम पार्टी विभाजन भएपछि उनी दाहाल–नेपाल समूहमा लागेका थिए।
पूर्व कानुनमन्त्री समेत रहेका नेता तामाङ र उनकी पत्नी उषाकला राई दम्पत्ति नै ओली समूहमा फिर्ता भएका हुन। तामाङकी धर्मपत्नी राई आज विराटनगरमा हुने ओली समूहको जनसभाबाट प्रवेश गर्ने बताइएको छ।
डिसी नेपालसँगको कुराकानीमा तामाङले भने, ‘हामी हिजो पनि सत्तासँग थियौं र आज पनि सत्तासँगै छौं।’ उनी नेकपा एउटै भएको बताउँछन्। ‘नेकपा एउटै हो, कार्यक्रममात्र अलग अलग भएका हुन। आजदेखि ओली समूहले गर्ने कार्यक्रममा हामी दुबै जना सहभागि हुने भएका छौं।
तामाङले प्रधानमन्त्री ओली नेतृत्वको समूह नै नेकपा भएको बताए। भने ‘पार्टीमा सम्बन्ध पुनर्गठन भइरहन्छन्, जहाँ आफूलाई सहज हुन्छ, जहाँ आफ्नो दृष्टिकोण मिल्छ, त्यहाँ रहेर काम गर्न जो पनि स्वतन्त्र हुन्छन्।’
उनले प्रचण्डलाई नेता मान्न नसकेको जिकिर गर्दै प्रचण्ड–नेपालको नेतृत्वबाट देशको विकास सम्भव नभएको पनि बताए।