
भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमित बढ्न थालेपछि रुपन्देहीको सीमा क्षेत्रमा निगरानी बढाइएको छ । संक्रमण बढेसँगै भारतबाट फर्कने नेपाली बढ्न थालेपछि निगरानी पनि बढाइएको हो ।
भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा कडाइ गरेको छ भने केही स्थानमा रात्रिकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेशलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।
रुपन्देहीमा यस क्षेत्रकै ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट धेरै नागरिक ओहोरदाहोर गर्ने भएकाले निगरानी बढाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतमा संक्रमित बढ्न थालेपछि रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको हो । यो जोखिमलाई कम गराउन नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । संक्रमण नेपालमा पनि भित्रन सक्ने सम्भावना भएकाले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।
सीमा क्षेत्रमा नेपाल आउने यात्रुहरुका लागि भने कुनै सावधानी नअपनाइएको भन्दै आलोचना बढेपछि स्वास्थ्य कार्यालय तथा प्रशासनलले पहल थालेका हुन् ।
स्वास्थ्य कार्यालयकै पहलमा सीमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भएको छ । जहाँ सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
