आजदेखि बिस्केट जात्रा सुरु हुँदै

भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताए ।
तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *