कोरोना संक्रमण बढेपछि वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विद्यालय बन्ददेखि २५ जनाभन्दा बढी भेला हुन नपाउनेसम्मका निर्णय गरेको छ । बैठकले काठमाडौं, ललितपुर, भक्तपुरका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, पोखरा, भरतपुर महानगरपालिकामा रहेका शैक्षिक संस्थाले ‘भर्चुअल वा वैकल्पिक’ शिक्षण सिकाइका विधि अपनाएर शैक्षिक गतिविधि गराउनुपर्ने निर्णय गरेको छ ।

इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, भिमदत्त, मेचीनगर, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्र्रनगरलगायत सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार यसअघि नै निर्धारण भइसकेका विद्यालय तथा क्याम्पसका परीक्षा तथा चिकित्सा शिक्षातर्फका अध्ययन जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै बैठकले ‘होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरी व्यवस्था मात्रै उपलब्ध गराउन’ निर्देशन दिएको छ ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टले जनस्वास्थ्य मापदण्ड अपनाएर सेवा दिनुपर्नेछ । सरकारका प्रवक्ता गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेस्टुरेन्ट खोल्न पाउने जानकारी दिए ।

सरकारले सार्वजनिक यातायात तथा हवाई यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य सेनिटाइजर प्रयोग गर्नुपर्ने आदेश दिएको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवं व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको छ ।

लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई यात्रुको संख्या जानकारी दिनुपर्नेछ ।हवाई जहाजका यात्रुले मास्क र सेनिटाइजर अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । उडानपछि अनिवार्य विमान, यातायात सधान र ब्यागेज ‘डिसइन्फेक्ट’ गर्नुपर्नेछ ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, फुटसललगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गनुपर्नेछ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गर्नेगरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर २५ जनामा नबढ्ने गरी गर्ने निर्णय गरेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *