
द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै चलचित्रको छायांकनको क्रममा प्रहरी हिरासतमा बसेका होइनन् । ‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।
हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ । यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष ९ (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।
प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् ।
सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन्
तीन साताअघि दक्षिण कोरियास्थित नेपाली दूतावासको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई एउटा सूचना पठायो, जसमा भनिएको थियो( ‘नेपालबाट आएका एकजना कलाकारसँग यहाँ आएका ११ जना फर्किएका छैनन् ।’
दूतावासले पठाएको सूचनामा उल्लेख गरिएका कलाकार थिए( नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी । सुरुमा त प्रहरी अधिकारीहरुलाई विश्वास नै लागेन । तर, यसअघि पनि कार्यक्रमको बहानामा जाने कलाकार तथा नेतासँगै मानव तस्करी हुने गरेको पाइएको थियो । त्यसमाथि नेपाली दूताबासकै सूचना भएकाले अनुसन्धान अघि बढायो ।
प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।
कोरियामा आयोजित कार्यक्रमका लागि खड्गीले भिसा लिएका थिए । उनले प्राविधिकको टोलीका नाममा अरु ११ जना लगेका थिए । ‘कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भनिएको छ’, सीआईबी स्रोत भन्छ ।
तर, खड्गीले सुटिङका क्रममा विभिन्न ठाउँमा भेटिएका व्यक्तिहरुबाट मोटो रकम लिएर कोरिया लगेको पाइएको छ । कतिपय भने आफैं खड्गीको सम्पर्कमा पुगेका रहेछन् ।
स्रोतका अनुसार खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका थिए । खड्गीले उनीहरुको डकुमेन्ट बनाउँदा युवा फर्किएनन् भने आफ्नो जिम्मेवारी हुने व्यहोरा उल्लेख भएको कागजातमा समेत हस्ताक्षर गरेका छन् ।
मानव तस्करीको यो नयाँ शैली हो । खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ( सीआईबी अधिकारी
खड्गीको वयानः अरुले पनि यसै गर्थे, मैले पनि गरें
प्रहरी नियन्त्रणमा रहेका द्वन्द्व निर्देशक खड्गीले उनीहरुलाई कोरिया लगेको स्वीकार गरेर वयान दिएका छन् । प्रहरी स्रोतले उनको वयानलाई उदृत गर्दै भन्यो, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’
खड्गीको बयानबाट अन्य कलाकारले पनि अवैधानिक तरिकाले मानिसहरुलाई लैजाने गरेको देखाएको छ ।
‘मानव तस्करीको यो नयाँ शैली हो’, सीआईबीका एक अधिकारी भन्छन्, ‘खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ ।’
दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशहरुमा भिसा लगाउन समस्या हुने भएकाले युवाले मोटो रकम बुझाएर अवैधानिक बाटोबाट त्यहाँ जाने गरेका छन् ।
source: onlinekhabar
