भोकालाई कसरी व्यवस्थापन गर्ने ?

-डा.डिआर उपाध्याय,
यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।
अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।
कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स्थानीय सरकार लाग्नु पर्छ । तर त्यति प्रभावकारी रुपमा लागेको पनि देखिएन ।
पछिल्लो समयमा आएर कोरोना शहरमा केही न्यून हुँदै गएपनि गाउँघरमा बढेकै देखिन्छ । अझै सचेत र सतर्कता अपनाउनु पर्ने आबश्यकता देखिन्छ । कोरोना संग हेलचेक्याई गर्नु हुदैन । यो संग जुधनु पर्छ । यो बाहेक अर्को कुनै बिकल्प देखिदैन ।
आम नागरिक लामो समय सम्मको लकडाउनका कारण अतालिएका छन । लकडाउनका नाममा नागरिकलाई बन्दी बनाएर राजनीतिक दल र तिनका नेताहरुले कुर्सीको तानातानमा समय व्यतीत गरेका छन । जनता कोरोनाको चपेटामा औषधि र अक्सिजन नपाएर छटपटाइरहँदा नेताहरु रमिता हेरेर बसेका छन । यति बेला दैनिक श्रम गरेर खाने वर्ग समस्यामा छन । उनका लागि औषधि, अस्पताल निकै टाढाको विषय बनेको छ ।
सर्वसाधारण नागरिक खोप पाउन सकेका छैनन। मुलुकका राजनीतिक दलहरूको चाला अहिले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको छ। सत्ता र शक्तिको मोहमा चुर्लुम्म डुब्दा देशलाई महामारीको संकटले छोपेको छ। दलहरु आरोप र प्रत्यारोपमा समय खर्चदै छन ।
चुनावका समयमा ठुला ठुला सपना देखाउने तर कोरोना महामारीको कठिन समयमा नागरिकको दुःख नदेख्दा यसको मूल्यांकन समय आएपछि नागरिकले पक्कै गर्नेछन्। आफ्ना संयन्त्र परिचालन गर्नेदेखि सरकारलाई सजग गराउँदै मृत्युदर घटाउन र महामारी नियन्त्रणमा दलहरू पनि लाग्नुपर्ने हो। तर, यी कुनै कार्यमा उनीहरूको सक्रियता छैन। दैनिक मजदुरी गरेर परिवार पाल्नेहरू निषेधाज्ञा लम्बिँदा रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्तामा छन्। उनीहरूको घरमा आगो बल्यो बलेन ?
भोकालाई कसरी व्यवस्थापन गर्ने ?
दीर्घरोगीहरूको अवस्था के छ ? रोगीको परीक्षण, उपचार र खोप के हुँदैछ ? दलहरू र तिनका नेता बेखवर छन । महामारी नियन्त्रणमा समय घर्किदो छ। महामारी नियन्त्रणमा औषधि उपचारसँगै खटिने जनशक्तिको पनि अभाव छ। भोकालाई भोजन दिने विभिन्न जिल्ला र सहरका युवा थाक्दैछन्। विपद्मा सहयोग जुटाउन प्रशासन र स्वास्थ्यकर्मीले आग्रह र आह्वान गर्नुपर्ने समय आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *