Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

यस वर्ष पनि साउनको सोमबार नखुल्ने भयो पशुपतिनाथ

admin

साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।

सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकाल बताउँछन् ।

साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ ।

२०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो ।

महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको