आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।
आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् ।