Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

विद्यादेवी भण्डारीनै पुनः राष्ट्रपति बन्ने पक्का

admin

नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो ।

साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा विद्यालाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो ।

बालुवाटार बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले पनि एमाले स्थायी समितिले भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको जानकारी दिए।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको थियो । एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा थियो ।

दिउँसो ४ बजेका लागि तय भएको बैठक साँझ ६ बजे शुरु भएर मध्यराति साढे १२ बजे मात्रै निर्णय हुन सकेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले स्थायी समितिले वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिने निर्णय गरेको बताए ।

राष्ट्रपतिको उम्मेदवार छान्न बसेको स्थायी समितिको बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गरेका थिए ।

पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका थिए। उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ थियो। भण्डारीले आफ्नो पक्षमा माहोल बनाउन ओली(प्रचण्डलाई शीतल निवासमै बोलाएर दिवाभोज समेत दिएकी थिइन् ।

यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको थियो। नेपाल पक्षले एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर दिनु गलत हुने बताउँदै आएको थियो।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ। दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ।

एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको