Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आज ऋषिपञ्चमी सप्तर्षिको पूजाआजा गरी मनाउँदै

admin

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसै कारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो ।
महिलाको रजस्वलासँग जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई फ्याँकिदिनुभयो । यसैकारण उब्जनी नहुने भूमि, वृक्षबाट निस्कने खोटो, पानीको फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए ।
रजस्वला भएका बेलामा छोइछाइ गर्दा महिलाका शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउँछ । कीटाणुले महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वासले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने प्रा डा गौतम बताउछन।
सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ । रज भनेको फोहोर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययनअनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।
आज स्नान गरी ऋषिपञ्चमीको पूजा लगाएपछि नरोपी उम्रेका अन्न सामाको धान ९खनजोत नगरी जङ्गलमा उम्रने०, कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्छ ।
ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको