नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको २ महिना बित्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।
नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनको मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्।
गत बिहीबार र शुक्रबार पनि सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसेका थिए।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समानवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।
अहिले संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमाले छ।
सत्तारूढ दलबीच एमसीसी पारित गर्ने विषयमा पनि एकमत हुन सकेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि संसदबाट एमसीसी अनुमोदन गराउने पक्षमा छन् भने सत्ता गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडानमा छन्।
अहिले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौंमा छ र राजनीतिक दलका शीर्ष नेता एवं प्रधानमन्त्रीलगायत सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गरिरहेको छ।