
पश्चिमी वायुको प्रभावले यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई जनाउँछ) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस क्रममा आज काठमाडौं उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘तर सम्भावना एकदमै कम छ’, शनिबार बिहान नेपालखबरसँग उनले भनिन्।
मौसमविद् नगरकोटीका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस छ। देशका अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे मात्र प्रकाशन हुनेछ।
