
भारतको कर्नाटक प्रदेशका मुख्यमन्त्रीमा बीएस यदियुरप्पाले शनिबार राजीनामा दिएका छन् । उनले गत बिहीबार मुख्यमन्त्रीमा पदको शपथ लिएका यदियुरप्पाले संसदमा विश्वासको मत लिनु केही मिनेटअघि राजीनामा दिएका हुन् ।
भारतीय जनता पार्टी (भाजपा) नेता यदियुरप्पाले ‘सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन नसकेकाले मार्गप्रशस्त गर्न राजीनामा दिएको’ बताए ।
५५ घण्टाका लागि मुख्यमन्त्री बनेका यदियुरप्पालाई कंग्रेस र जनता दलको गठबन्धनले विस्थापित गर्नेछ ।
कर्नाटकमा गतसाता भएको निर्वाचनमा भाजपाले १ सय ४ सीट जितेको थियो । उक्त संख्या सरकार गठनका लागि आवश्यक भन्दा ८ सीटले कम हो । निर्वाचनमा कंग्रेसले ७८ र जनता दलले ३८ स्थान जितेका थिए ।
गर्भनर बजुभाई वालाले ठूलो दलको हैसियतमा भाजपा नेता यदियुरप्पालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै विश्वासको मतका लागि १५ दिनको समय दिएका थिए । तर विपक्षी गठबन्धले मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले शनिबार ४ बजेसम्म समय दिएपनि उनी आवश्यक संख्या पुर्याउन असफल भए ।
भाजपाले यदियुरप्पाले लोकतन्त्रको सम्मान गर्दै राजीनामा दिएको बताए । कंग्रेस अध्यक्ष राहुल गान्धीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले उनीहरु भन्दा संस्थाहरु ठूलो भएको देखेको प्रतिक्रिया दिए ।
यसअघि विपक्षी दल कंग्रेसले ‘यदियुरप्पा एक दिनको मुख्यमन्त्री’ भएको दाबी गर्दै भाजपालाई बहुमत पुर्याउन चुनौति दिएको थियो । कंग्रेसले गर्भनरले ‘संविधानको बलात्कार गरेको’ आरोप लगाएको थियो ।
