
भैरहवा – कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।
उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने ।
‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले भने । अस्पतालका कर्मचारीले ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष गरेका थिए ।
कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित