Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी

अब जनता उठनु पर्ने बेला भयो

Reporter

-डा.डिआर उपाध्याय,

काठमाडौं । मुलुकको विकास र समृद्धि भन्ने कुरा धेरै पहिले देखि उठेको कुरा हो । तर ब्यवहारमा कुनै कुरा लागु हुन सकेको छैन । देशको बिकासका लागी दीर्घकालिन र अल्पकालिन योजना बनाइनु पर्ने हुन्छ । योजना नबनेका पनि होइनन् तर कार्यान्वयनको पक्ष फितलो छ । राजनीतिक दल र तिनका नेताहरु संघीय निर्वाचनमा फेरि कसरी जितेर आउने र मुलुकमा लुटतन्त्र मच्याउने भन्नेमा केन्द्रित बनेको देखिन्छ । महँगीले आमजनता आजित र निराश छन् । राजनीतिक दल र तिनका नेताविरुद्धको आक्रोश चुलिँदो छ ।

तर, पनि शासकहरू कानमा तेल हालेर आरामले सुति राखेको जस्तो बहाना गरिरहेका छन । उनीहरु सत्तामा रहेर लुटतन्त्र मच्याउनमा नै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष सबै आआफनो दुनो सोझाउन ब्यस्त छन । जनताको चुलो राम्ररी बले नबलेको, जनताले उपचार राम्ररी पाए नपाएको यो बिषयमा सरकार बेखवर जस्तै छ । सरकारलाई कुनै मतलब नै छैन ।

सरकार जनताको अभिभावक हो । उसले अभिभावकीय भूमिका निभाउन सक्नु पर्छ । प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव तथा सरकारी कार्यालयका कार्यालय प्रमुख लगायत सबैले इमान्दारीका साथ काम गर्ने हो भने देशमा केही प्रगति हुन सक्छ । तर उनीहरु आआफनो स्वार्थमा केन्द्रीत छन ।

जनताको करबाट तलब तथा सेवा सुविधा लिँदै आइरहेकाहरुलाई जनताको चिन्ता हुनु पर्ने हो तर कुनै मतलव छैन । आज आमजनतामा राजनीतिक र प्रशासनिक सबै नेतृत्वमाथि वितृष्ण पैदा भइरहेको छ ।हाम्रो देश प्राकृतिक स्रोत र साधनले धनी देश हो । हाम्रो देशमा भएका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गर्नसक्ने हो भने मुलुकको विकास र समृद्धि छिट्टै हुन सक्छ । विकास र समृद्धिका योजना र कार्यक्रमलाई इमान्दारीपूर्वक व्यवहारमा उतार्न सक्ने शासकहरू जरुरी छ । नेपालमा विकासका धेरै सम्भावना छन् । यति सम्भावना हुँदा हुँदै पनि नेतृत्व बर्गले इच्छा शक्ति देखाउन नसक्नु दुखद पक्ष हो ।

हाम्रो राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ । हाम्रा शासकहरूको बोली र व्यवहार एउटै हुनु पर्छ । तर व्यवहार अर्कै हुनाले समस्या देखिएको छ । त्यसले पनि समस्यामाथि समस्या थप्ने काम गरिरहेको छ । भ्रष्ट नेताहरू र भ्रष्ट प्रशासकहरूलाई सामाजिक बहिष्कार गर्ने आँट हामी सबैले गर्नु पर्छ । अहिले पनि लुटनेले लुटिरहेका छन ।

हुन ता हिजो पनि अवस्था यस्तै हो । जुन पार्टी शासनमा पुगे पनि लुटने बाहेक अरु केही गर्न सकेका छैनन् । उनीहरूको काम देशको ढुकुटी लुट्नमै बितेको छ । यो नेपाली जनताका लागि ठूलो दुर्भाग्यपूर्ण हो । नेताहरू यसरी नै भ्रष्टाचारमा चुर्लुम्म डुब्दै जाने हो भने जनताले एक दिन आफै सजाँय दिने छन । किनकि, सबैभन्दा ठूलो शक्ति भनेकै जनताको शक्ति हो ।

जनताले चाहे भने जे पनि गर्न सक्छन । अब त साँच्चै नै अति भइसकेको छ । अब जनता उठनु पर्ने बेला भयो । नेताहरू सुध्रिने कोसिस गरेनन् ।यतिखेर संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार भ्रष्टाचारको दलदलमा फसेका छन । भ्रष्टाचारले सीमा नाघनु भनेको राम्रो संकेत होइन । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा नियमित अनुगमन र अनुसन्धान गर्न सक्नुपर्छ । अख्तियारले भ्रष्टाचारीहरुलाई समातेर कानुन अनुसार कारवाही गर्नु पर्छ ।

नीतिगत भ्रष्टाचार गर्नेहरू पनि छन । अब, अख्तियार आक्रामक किसिमले लाग्नु पर्छ । न्यायक्षेत्र समेत चोखो बन्न सकेन । जनतालाई न्याय दिने प्रमुख भूमिकामा रहेका न्यायाधीशहरू नै बदनाम हुदै गएको अबस्था देखिन्छ । सरकारले हरेक वर्ष सार्वजनिक गर्ने बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न पनि सरकारी निकाय असफल हुँदै आइरहेका छन् ।

सरकारको लक्ष्य पूरा गर्नका लागि पनि शासक प्रशासकहरूमा इमान्दारीता हुनु अति आबश्यक छ । अझै आर्थिक परिसूचकहरू सकारात्मक देखिन सकेका छैनन् । प्रत्येक नेपालीको टाउकोमा ऋणको बोझ थपिँदो छ । हामी कता जादै छौं भन्ने चिन्ताले पिरोलिरहेको छ । बिश्वका धेरै देश बिकास र समृद्धितिर लम्किरहेका छन तर हामी हिजो भन्दा आज झन नाजुक बन्दै गइरहेका छौं । अब राजनीतिक दल र तिनका नेताहरुमा चेत खुल्नु पर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको