
काठमाडौं महानगरपालिकाले आज कात्तिक २८ गते सोमबारदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ ।
त्यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समय–सीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजदेखि हटाउन लागिएको महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीको भनाइ छ । अधिकारी भन्छन्– ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’
पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारी भन्छन्– ‘३० वर्ग फुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइने छ । प्रायोजकको बोर्ड पनि यही आकारभित्र हुनु पर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्ग फुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइने छ । सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइने छ ।’
योसँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टरसमेत हटाइने भएको छ ।
विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ तथा १५ वर्ग फुटसम्मको १ हजार ५ सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ । १५ वर्गफुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रति वर्गफुट एक हजार रुपैयाँ हो ।