Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

वाग्ले निर्वाचन जित्नेमा ढुक्क

Reporter

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचारप्रसारको समय पनि अन्तिम चरणमा छ । राजनीतिक दलका उम्मेदवारहरुले घरदैलोको कार्यक्रमहरु पनि लगभग सकाईसकेका छन् । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले निर्वाचनको घरदैलो अन्तिम अवस्थामा पुगिराख्दा आफू विजयको माला पहिर्याउन मात्र बाँकी रहेको बताउँछन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनलाई जनताको साथ र समर्थन बढ्दै गएको छ । जसका कारण पनि वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क छन् ।

यस क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट पूर्वयुवा तथा खेलकुदमन्त्री एकवाल मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् । तर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ भने पटक–पटक विवादमा तानिँदै आएका छन् । उनले उम्मेदवारी दर्ता गराएकै दिन निर्वाचन आचारसंहिता विपरित बाजा बजाएर उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजा रोक लगाएपनि उनले तनहुँ र सिमराको बाजा प्रयोग गर्दै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता पछि श्रेष्ठले म्यानपावरलाई प्रयोग गरेर बाराको परवानीपुरमा निर्वाचन आचारसंहिता विपरित चुनावी ब्यानरमुनी ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै अन्तर्वार्ता राख्न लगाए । उनले मतदातालाई प्रभावित पार्ने गरी अन्तर्वार्ता राख्न लगाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले आयोगलाई स्पष्टीकरण बुझाईसकेका छन् ।

त्यसपछि उम्मेदवार श्रेष्ठले बाराको जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई ‘सा.. भाडाका ट्टुहरु’ भन्ने शब्द प्रयोग गरे, जुन शब्दले उनी निकै आलोचित बन्न पुगे । अर्का एमालेका तर्फबाट उम्मेदवार मियाँ पनि विगत देखि नै विवादमा मुछिदै आएका व्यक्ति हुन् । विगतमा चुनाव जिते पनि उनले आफ्नो क्षेत्रमा केहि गर्न नसेको मतदाताहरु बताउँछन् ।

जसपाको महन्थ ठाकुर पक्षबाट युवा तथा खेलकुदमन्त्री समेत बनेका मियाँ ०७५ मा विवादमा तानिएका थिए । मियाँ त्यतिबेला स्वतन्त्र तिब्बतसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भएर विवादमा तानिएका हुन् । लाटभियाको संसदको ‘तिब्बतका लागि सहयोग समूहको सहयोगमा टिबेटियन पार्लियामेन्ट इन एक्साइल’ले आयोजना गरेको सातौँ पार्लियामेन्टेरियन कन्भेन्सन अन तिब्बतमा नेपालबाट मियाँसहित दुई जना सांसद सहभागी भएका थिए । लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशमा करिब २५ सांसद सहभागी थिए । मियाँसहित दुई सांसद उक्त कार्यक्रममा सहभागी भएको सूचना चुहिएलगत्तै चीनले सरकारसँग गम्भीर प्रश्न उठाएको थियो । चीनको आपत्तिपछि परराष्ट्र मन्त्रालयले १४ मे २०१९ मा विज्ञप्ति निकाले सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट ग¥यो । तर, मियाँलाई तत्कालीन राजपाले कारबाही गरेन ।

वाग्ले अघिअघि

एमाले मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री श्रेष्ठ भन्दा वाग्ले हरेक क्षेत्रमा अगाडि देखिएका छन् । वाग्लेले सुरुवातदेखिनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउँदै लगेका छन् । चुनाव आउन अब चार दिन मात्र बाँकी रहँदा उनले मतदातासँगको भेटघाटलाई बाक्लो बनाउँदै लगेका छन् । यस क्षेत्रमा रहेको ३८ वटै वडामा पुगेर मतदातासँग आफ्नो योजना र अनुभव सुनाईरहेका वाग्ले पछिल्लो समय बलियो प्रतिस्पर्धीको रुपमा उदाएको देखिन्छ ।

सानो निर्वाचन परिचालन कमिटीबाट आफ्नो प्रचार अभियान शुरु गरेका वाग्लेको पक्षमा मत माग्न अहिले प्रचार कमिटी नै सयौंको संख्यामा सक्रिय छन् । चुनावी प्रचारका लागि वाग्लेले बनाएको परिचालन कमिटीले क्षेत्रभरी सयौंको संख्यामा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सम्पर्क कार्यालयमार्फत वाग्लेको समर्थनमा चुनावी प्रचार हुँदै आएको छ ।

क्षेत्रभरी आफ्नो पक्षमा जनसमर्थन बढ्न थालेपछि वाग्ले उत्साहित देखिएका छन् । उनी आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसका केही प्रभावशाली नेताहरु वाग्लेको पक्षमा खुलेर प्रचारमा नहिँडेपनि मौन समर्थन जनाइरहेका छन् भने अन्य अधिकांश नेताकार्यकर्ता खुलेरै प्रचारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवार र मतपत्रमा चुनाव चिन्ह नै नहुने भएपछि स्वतन्त्र उम्मेदवार जिताएर क्षेत्रको विकासका लागि आफ्नो मतको सदुपयोग गर्ने कांग्रेसका नेताकार्यकर्ता बताउँछन् । यस क्षेत्रका अधिकांश कांग्रेसका नेताकार्यकर्ता वाग्लेको पक्षमा खुलेको देखिन्छ ।

कांग्रेस नेताकार्यकर्ता मात्र नभई वाग्लेको पक्षमा स्वतन्त्र नागरिकले समेत सक्रिय सहभागिता जनाएका छन् । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा यसै क्षेत्रमा आफ्नो सर्वस्व लगानी गरेर र संयौको संख्यामा स्थानीयलाई रोजगारी दिएका उम्मेदवारलाई आफूहरुले समर्थन गरेको पथलैयाका विश्वास थापाले बताए ।

वाग्लेको पक्षमा उत्तरी क्षेत्रका मात्र नभइ दक्षिणी क्षेत्रका नागरिक समेत सक्रिय भएर लागेका छन् । होटल तथा पर्यटन व्यवसायमार्फत विकास र परिवर्तन सम्भव छ भन्ने देखाएका कारण पनि वाग्लेप्रति आकर्षण बढेको देखिन्छ । फेटाका २५ वर्षीय युवा अशोक पटेल उत्तरी क्षेत्रजस्तै दक्षिणतर्फको मुहार फेर्नका लागि पनि स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा स्थानीय युवाहरु लागेको बताउँछन् । स्वतन्त्र उम्मेदवार वाग्लेले पनि आफ्नो जितपछि बारा ४ को मुहार फेर्न आफु सक्षम रहेको बताउँदै आएका छन् । जिल्लाको अन्य क्षेत्रमध्ये सबैभन्दा बढी सम्भावना बोकेको बारा क्षेत्र नं. ४ लाई आगामी पाँच वर्षमा नमुना क्षेत्रको विकास गर्ने वाग्ले बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको