
राजपाबाट प्रदेश नम्बर २ मा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका अभिराम शर्मालाई उच्च अदालत जनकपुरले पक्राउ गर्न परमादेश दिएको छ । प्रहरीको फरार सूचीमा रहेका शर्मालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र रवि शर्माको संयुक्त इजलास बिहिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।
राज्यमन्त्री शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । केही समयअघि मात्र राजपाले राज्यमन्त्री बनाएका उनीसँगै अर्का अभियुक्त रामशंकर मिश्र पनि जलेश्वर नगरपालिकाका मेयर रहेका छन् । केही अभियुक्तहरु भने जलेश्वर कारागारमा थुनामा रहेका छन् ।
फरार सूचीमा रहेका राज्यमन्त्री शर्मा लगायतका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्या भएका असई विककी श्रीमती शोभा गहतराजले २०७२ साल चैत २८ गते अदालतमा मुद्धा दायर गरेकी थिइन् ।