
विशेष अदालतले घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष कैद र जरिवाना फैसला सुनाएको छ ।
अर्का प्रतिवादी नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि उति नै सजाय र जनही ३९ लाख जरिवाना भराउने फैसला गरेको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठक र न्यौपाने दुबैलाई यस्तो फैसला सुनाएको हो । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएको थियो ।
पाठक अख्तियारको आयुक्त भएर पनि घुस लिएकाले उनलाई थप ३ महिना कैद सजायको फैसला भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले २०७५ चैत १२ मा मुद्दा दायर गरेको थियो ।