दोलखावासीका लागि निस्काशन गर्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर भर्नेको भीड बढेपछि समय थप गरिएको छ । नेपाल धितोपत्र बोर्डले एक साता अर्थात आगामी भदौ १ गतेसम्मका लागि म्याद थप गरेको हो ।
यस अघि साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि तोकिएको थियो । राजधानीमा नै करीब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको छ । दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । अर्थात करीब रु पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ ।
आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर बिक्री गरेपछि सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ ।