
नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए। सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।
निर्माणाधीन पाँच पुलमध्ये तीन को भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।
काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उनले बताए। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उनले बताए । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।