Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

खेर जाँदै ४० लाख ‘डोज’ खोप

Reporter

सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ ।

पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो ।

त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । त्यसमध्ये साइनोभ्याक मात्रै ४० लाख डोज छ । त्यसबाहेक अन्य भेरोसिल खोप मौज्दात छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले ४० लाख डोज साइनोभ्याक र बाँकी भेरोसिल खोप विभागको कोल्ड स्टोरहरूमा स्टक रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । तर, भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन केही जनसंख्या बाँकी रहेकाले लगाउन मिल्ने विभागको बुझाइ छ । साइनोभ्याक खोप भने स्वास्थ्य मन्त्रालयले विशेष निर्णय नगरे खेर जान सक्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक सर्वेश शर्मा विभागअन्तर्गतका कोल्डस्टोरमा स्टक खोपको म्याद २०२३ डिसेम्बरसम्म रहेको र त्यसअघि नै सरकारले विशेष निर्णय गर्नुपर्नेमा जोड दिन्छन् ।

सरकारले छिमेकी मुलुकमा कोभिड–१९ संक्रमण फरकस्वरूपमा फैलिँदै गएपछि तेस्रो र चौंथो डोजका लागि अर्थात् दोस्रो र तेस्रो बुस्टर डोजमा प्रयोग गर्न ३० लाख डोज फाइजर खोप ल्याउन लागेको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोजका लागि ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख डोज दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइने छ । दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप फेब्रुअरी दोस्रो सातासम्ममा आइपुग्ने बताइन्छ । सो खोप ल्याउनका लागि औषधी व्यवस्था विभागले अनुमति दिइसकेको छ । -राजधानी दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको