
काठमाडौं । नेपालको सबैभन्दा पुरानो, ठूलो र स्तरीय फुटबल प्रतियोगिता शहीद स्मारक ’ए’ डिभिजन लिग २०७९ को प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिनजले गर्ने भएको छ । यही फागुन १९ गतेबाट सुरु हुने लिगको प्रत्यक्ष प्रसारणसहित डिजिटल राइट्स समेत स्पेस फोरके टेलिभिजनले लिएको हो । सोमबार एन्फा कम्पलेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी लिगसँग सम्बन्धित सबै पक्षको जानकारी गराइएको हो । सो अवसरमा बोल्दै स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाहीले प्रत्यक्ष प्रसारणको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले टेलिभिजनबाट प्रत्यक्ष प्रसारणका साथै प्रत्येक खेलको समिक्षा हुने जानकारी दिए । “उच्चतम प्रविधिमार्फत गूणस्तरीय प्रसारण हाम्रो प्राथमिकता हो” उनले भने “प्रसारणमा रिसिभ गर्ने सिस्टम नभए पनि डिजिटल प्लेटफर्ममा भने फोरकेको क्वालिटि दिने हाम्रो तयारी छ ।”
यसअघि एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससी स्पोर्ट्स प्रालिले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको थियो । सोहि पत्रकार सम्मेलनका क्रममा एन्फा र एमडीएससीबीच सम्झौतामा हस्ताक्षर भएको छ । एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका संयोजक अर्जुन घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
स्पेस फोरके टेलिभिजनले पनि यसअघि नै एमडीएससी स्पोर्ट्स प्रा.लि.सँग सम्झौता गरिसकेको छ । एमडीएससी स्पोर्ट्स प्रा.लि. का संयोजक अर्जुन घिमिरेले सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरे नेपाली फुटबल उचाइमा जान सक्ने उल्ले गरे ।
दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स मैदान र च्यासलमा सञ्चालन हुने लिगमा १४ क्लबको सहभागिता रहने छ । लिगमा कूल एक सय ८२ खेल हुनेछन । लिगका खेलहरू डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने छ । कूल १२ करोड रुपैयाँ लगानीमा सञ्चालन हुने लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै लिगमा प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।