
नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज बार्ता हुँदैछ। पीडितको माग सम्वोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन्।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितबीच बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ। बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन्।
सो समितिमा शर्माकाे नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन्।